थोक लघुवित्तीय बर्जा प्रवाह गर्दै आएका दुई लघुवित्तहरु साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् ।
गाभ्ने–गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात् दुई लघुवित्तले आज असार २४ गतेदेखि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गरेका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालय, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै दुई लघुवित्तको एकीकृत कारोबार सुरु हुने भएको हो ।
एकीकृत कारोबार सञ्चालका लागि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट असार ७ गते गाभ्ने गाभिने अन्तिम दिनसम्म कायम रहने दुबै संस्थाको सम्पूर्ण चलअचल सम्पत्ति तथा दायित्वहरु साना किसान विकास लघुवित्तले सकार्ने गरी प्राप्त स्वीकृति प्राप्त भएको थियो ।
सोभन्दा अघि नेपाल धितोपत्र बोर्डबाट असार ४ गते तथा नेपाल राष्ट्र बैंकबाट २०८० जेठ २४ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो । यस्तै एकआपसमा मर्जर हुने सन्दर्भमा दुबै वित्तीय संस्थाले २०७९ चैत १० गते अलग अलग वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेका थिए ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले २०८० असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रादेशिक र शाखा र इलाका कार्यालयको रुपमा कारोबार सञ्चालन हुने भएको छ ।
सुरुमा एकीकृत संस्था साना किसान आरएमडीसी नामबाट कारोबार गर्ने सहमति भएको थियो । तर, सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना किसान विकास कार्यक्रम सबै स्थानिय तहमा विस्तार गर्ने उल्लेख भएपछि संस्थाको नाम पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था मात्र कायम गरिएको हो । बजेटमा साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत सबै स्थानिय तहमा क्रमश साना किसान उद्यम विकास कार्यक्रम संचालन गर्ने घोषणा गरिएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड विसं २०५८ असार २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७६ जेठ २१ गते “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौं महानगरपालिका ११ बबरमहलमा रहेको छ ।
यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा २०५५ कार्तिक १३ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७६ बैशाख ३१ गते लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौं महानगरपालिका १० मध्य बानेश्वरमा रहेको छ ।
एकीकृत साना किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक र प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन् । संस्थाको सञ्चालक समितिमा दुवै तर्फका तीन–तीन जना रहनेछन् ।
मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड हुने छ । यस्तै लगानी ४१ अर्ब ८६ करोड हुनेछ । हाल साना किसानले १ हजार ३ सय र आरएमडीसीका ३ सय भन्दा बढी संस्था प्रवर्धन गर्दै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया