बागमती प्रदेशद्वारा दुग्ध किसानलाई ३० करोड अनुदान


बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रुपैयाँ अनुदान दिएको छ ।

प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा १६ करोड रुपैयाँमात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो ।

प्रदेशले आव २०७५\७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो । कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ ।

यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले जानकारी दिए । भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए ।

उनले भने, “चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन ।” कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ । भरतपुर महानगरपालिकाले प्रतिलिटर तीन रुपैयाँ, माडी नगरपालिकाले चार रुपैयाँ र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन् ।

अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ । उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।