सेयर बजारमा हरियाली, सूचक २८ अंकले बढ्यो

0
Shares

धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८.३८ अङ्कले उकालो लागेर २०७७ दशमलव ७६ अंकमा पुगेको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क १.६६ प्रतिशत अर्थात ६.३५ अङ्कले ओरालो लागेर ३८८ दशमलव ५१ अंकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयरमूल्य उकालो लाग्दा हरियाली छाएको छ । कूल ८३ लाख ५२ हजार ५७६ कित्ता सेयरहरु ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ मूल्यमा खरिद बिक्री भएका छन् । ७३ हजार ४४६ वटा संख्यामा उक्त सेयर खरिद बिक्री भएको हो ।

नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टसको १६ करोड ३६ लाख ५१ हजार रुपैयाँ, सोल्टी होटलको १४ करोड ८ लाख ४८ हजार रुपैयाँ, अरुण काबेली पावरको १२ करोड १ लाख ९८ हजार रुपैयाँ र धितोपत्र बोर्डबाट शुक्रबार शतप्रतिशत हकप्रद बिक्री अनुमति पाएको अपर तामाकोशी हाइड्रोपावरको १० करोड ६२ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार रावा इनर्जीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेर ३३१ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै सिटी होटलको सेयर मूल्यमा ९.५१प्रतिशतले वृद्धि भई ७४१ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै प्रभु बैंक डिबेञ्चर २०८४ को मूल्य ८.२२ प्रतिशत, सनराइज बैंक डिबेञ्चर २०८३ को ८.२१ र सिटिजन्स म्युचुअल फन्ड १ को इकाईमूल्य ८ प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त ७.७५ प्रतिशत, माउन्टेन इनर्जी ७.५६, सपोर्ट लघुवित्त ६.६८, हिमालयन हाइड्रोपावर ५.९३ र सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् ।

उता शतप्रतिशत हकप्रदको भारी बोकाउने भएसँगै अपर तामाकोशीको सेयर ६.६५ प्रतिशतले घटेर ४४२ रुपैयाँ ५० पैसामा झरेको छ । यस्तै बिपीडब्लू लघुवित्तको ४.४३, लिवर्टी इनर्जीको ३.६०, जोशी ३.४९ र पिपल्स हाइड्रोपावरको २.९९ प्रतिशतले घटेको छ ।

आइतबारको वृद्धिसँगै कुल बजार पुँजीकरण बढेर ३० खर्ब ५२ अर्ब ६ करोड ८० लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।