एघार महीनामा पौने ४२ अर्बको धितोपत्र बिक्री अनुमति, ३९ अर्बको बोनस नेप्सेमा सूचीकृत

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७९–८० को ११ महीनामा कुल ४१ अर्ब ७७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको त्थ्याङ्क अनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्डका इकाई, १३ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महीना अवधिमा कुल २ खर्ब ९९ अर्ब १ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकका अनुसार १ खर्ब ७६ अर्ब १० करोड रुपैयाँ बराबरको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै ४५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र र २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ । यसैगरी २०७९ साउनदेखि २०८० जेठसम्ममा विभिन्न सूचीकृत कम्पनीहरुले वितरण गरेको ३९ अर्ब ९ करोड बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको हो ।

हालसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा जेठ मसान्तमा सूचीकृत ७ अर्ब २८ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।