जर्मनीको कम्पनीले साढे ९४ अर्ब लगानी गरेर नेपालमा मल कारखाना खोल्ने

0
Shares

जर्मनीको एक कम्पनीले ९४ अर्ब ५६ करोड नेपाली रूपैयाँ (७१४ मिलियन डलर) लागतमा नेपालमा वार्षिक ७ लाख टन यूरिया मल उत्पादन गर्ने कारखाना खोल्ने भएको छ ।

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डिआइएजी इन्डष्ट्रिज जीएमबीएच जर्मनीबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डिआइएजी इन्डष्ट्रिज जीएमबीएचका म्यानेजिङ डारेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रको प्रावधान बमोजिम मल उत्पादन गर्ने जर्मनीको उक्त कम्पनीले अनुमतिपत्र प्राप्त गरेको दुई वर्ष (२४ महिनाभित्र) विस्तृत सम्भाव्यक्ता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ ।

प्रस्तावक डिआइएजी इन्डष्ट्रिज जीएमबीएचले प्राकृतिक ग्याँस, इलोक्ट्रोलाइसिस (कार्बन स्टोरेज सहित) अथवा हाइब्रिड (उल्लिखित दुबै) प्रविधि मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान छ ।

साथै आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरण सहित परियोजनाको कार्यान्वयन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डिआइएजी इन्डष्ट्रिज जीएमबीएचको प्रस्तावका आधारमा लगानी बोर्डको मिति चैत्र १७ गतेमा सम्पन्न ५० औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा मिति २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औं बैठकबाट स्वीकृत भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।