होटल मेची क्राउन रिर्सोटले ३ करोडको सञ्चालन आम्दानी पौने १९ करोड पुर्यायो


सन् २०२२ मा होटल मेची क्राउन रिसोर्टले १८ करोड ७१ लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । होटल मेची क्राउन विशिष्ट क्यासिनो सेवा युक्त पाँच तारे होटल हो, जसलाई भेगास सीटी इन्टरटेन्मेन्ट प्रालिले सञ्चालन गरिरहेको छ ।

नेपाल–भारत सीमा नजिक झापाको मेचीनगरस्थित धुलाबारीमा निर्माण गरिएको सो रिसोर्टमा भारतीय पर्यटकहरुको आगमन हुने गरेको छ । होटलले सञ्चालन गरेको क्यासिनो भेगासका कारण भारतीय नागरिकहरुको बढ्दो आगमनले रिसोर्टको आम्दानी वृद्धि गर्न सहयोग गरिरहेको छ ।

सन् २०२१ मा ३ करोड १८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको रिसोर्टको सन् २०२२ मा सञ्चालन आम्दानी ४८८ प्रतिशतले बढेको हो । सञ्चालन आम्दानीमा भएको आकर्षक वृद्धिका कारण कम्पनीका अन्य वित्तीय सूचकांकमा समेत सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२१ मा ऋणात्मक थियो भने सन् २०२२ मा सुधार भएर सञ्चालन आम्दानीको ४८.१ प्रतिशत पुगेको हो । अर्थात कम्पनीले सन् २०२२ मा झण्डै ९ करोड रुपैयाँ नाफा कमाएको छ ।

आठ बिघा जमिनमा निर्माण भएको उक्त रिसोर्टमा कुल १०५ कोठा रहेका छन् । जसअन्तर्गत ण्डिक्स, सुइट रुम, स्पा, रिक्रिएसन सेन्टर लगायतका सेवा सुविधाहरु उपलब्ध छन् ।

रिसोर्टमा बलराम सापकोटाको ४० प्रतिशत, पवित्र कुमार कार्कीको ३० प्रतिशत, क्षमादेवी इन्भेष्टमेन्ट प्रालिको १३ प्रतिशत लगायतका विभिन्न संस्थागत तथा व्यक्तिगत सेयरधनीहरुको लगानी छ । भेगास सीटी इन्टरटेनमेन्ट प्रालिले १ अर्ब १ करोड ९९ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब १ करोड ९६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले उपलब्ध गराएको रिसोर्टको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ०.७२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।