घोराही सिमेन्टको साधारण सेयर केहीबेरमा बाँडफाँड हुँदै


सर्वसाधारणमा निष्काशन भएको घोराही सिमेण्टको साधारण सेयर आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेण्ट बैंकिङले आइतबार साढे ३ बजे सेयर बाँडफाँड गर्न लागेका हुन् ।

नक्सालस्थित नबिल इन्भेष्टको कार्यालयमा सेयर बाँडफाँड गर्ने कार्यक्रम तय भएको नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले नोटबजारलाई जानकारी दिए ।

कम्पनीले ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी निष्काशन गरेको ६९ लाख ११ हजार ६७० कित्ता सेयर विवादमा परेपछि धितोपत्र बोर्डले निष्काशन स्थगन गरेको थियो । आर्थिक वर्षको समाप्ति तथा वैदेशिक रोजगारीमा गएका, आयोजना प्रभावितहरुको लगानीका साथै सर्वसाधारणको लगानी लामो समय बन्धक हुने भन्दै बोर्डले पुनः सेयर निष्काशन गर्ने बाटो खोलिदिएको थियो ।

आवेदन रद्ध गर्ने विकल्प सहित दोस्रो पटक सेयर निष्काशन हुँदा कुल ६ लाख ७३ हजार ८४० वटा आवेदन परेको केन्द्रिय निक्षेप प्रणालीले जनाएको छ । सिडिएससीका अनुसार आवेदन सच्याउने तथा फिर्ता गर्नेहरुको संख्या उल्लेखित संख्याबाट घटाइएको छैन ।

बैंक वित्तीय संस्थामा गएर आवेदन सच्याउने वा रद्ध गर्ने विकल्प दिएको कम्पनीले सोको विबरण सेयर बाँडफाँडका बेला सार्वजनिक गर्नेछ । झण्झटिलो प्रकृयाका कारण आवेदन सच्याउनेहरुको संख्या कम हुँदा कम्पनीको सेयरमा आवेदन दिएकाहरुले धेरै सेयर पाउने सम्भावना छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।