वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज

0
Shares

सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमवल पाँच प्रतिशत व्याज प्रदान गर्ने भएको छ । 
 
कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम सङ्कलन भएको छ । कोष सञ्चालक समितिको बैठकले आवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८ दशमवल ६० प्रतिशत व्याज लाग्ने निर्णय गरेको हो । 
 
धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९ दशमवल २५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जना व्याज लिने निर्णय गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उनका अनुसार कोषमा हालसम्म ३६ अर्ब ४४ करोड योगदान रकम सङ्कलन भइसकेको छ । 
 
औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा एक अर्ब १० करोड ४८ लाख ६५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा एक अर्ब ९८ करोड ४० लाख ५६ हजार र अतिरिक्त योगदान शीर्षकमा नौ अर्ब ६१ करोड १५ लाख २८ हजार सङ्कलन भएको कोषले जनाएको छ । 
 
कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका चार लाख २३ हजार नौ सय २९ र वैदेशिक क्षेत्रका दुई लाख २३ हजार पाँच सय ३५ गरी कूल छ लाख ४७ हजार चार सय ६४ श्रमिक आबद्ध भएका छन् । कोषले ८९ हजार दुई सय ४६ योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत पाँच अर्ब सात करोड दाबी भुक्तानी गरेको छ । 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।