कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त

0
Shares

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्प शर्मा नियुक्त भएका छन् ।

विसं २०८० असार ३१ गते बसेको सञ्चालक समितिको ५८ औं बैठकले पुष्प शर्मालाई २०८० साउन १ गतेदेखि लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । शर्माले यसअघि कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्नसक्ने एक कुशल नेतृत्व रहेको कम्पनीको भनाई छ । उनी कुमारी क्यापिटलमा आबद्घ हुनुपुर्व नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रहि कार्यरत थिए ।

नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा कुमारी क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने विश्वास क्यापिटलको छ ।

कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी ४० करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।