आइएमई लिमिटेडले दश करोडको आईपीओ बेच्ने, माग्यो अनुमति

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणमा दश करोडको साधारण सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरमा दश करोड रुपैयाँ मूल्यको १० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले सेयर बिक्रीको अनुमति माग्दै असार २९ गते शुक्रबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग निवेदन पेस गरेको छ ।
उक्त आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा चयन गरिसकेको छ ।

कम्पनीको २०७९ मंसिर १६ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने तथा सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

आइएमई लिमिटेडले दुई दशकभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । स्थापनाको २२ वर्षमा इन्टरनेशनल मनि एक्सप्रेस ( आइएमई) ले २० खर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्र्याएको छ । आइएमई समूह मार्फत् प्रत्यक्ष अप्रत्यक्ष रुपमा ४० हजार बढीले रोजगारी पाइरहेका छन् ।

कम्पनीले आफ्नो स्थापनाको २२ औं वर्ष प्रवेशको गरेको अवसरमा “निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने योजना बनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।