सुनको भाउले बिहीबार फेरि तोड्यो हालसम्मकै सबै रेकर्ड

0
Shares

सुनको मूल्यले हालसम्मकै सबै रेकर्ड तोडेर नयाँ उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार साउन ४ गते बिहीबार कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेर एक तोलाको १ लाख १३ हजार ६०० रुपैयाँ तथा तेजावी १ लाख १३ हजार ५० रुपैयाँ पुगेको छ । यसअघि गत जेठ १८ मा सुनले नयाँ रेकर्ड राख्दै तोलामा १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । हिजो बुधबार छापावाल सुन १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी पनि बिहीबार ५ रुपैयाँ बढेर तोलाको १ हजार ४९५ रुपैयाँ पुगेको छ । बुधबार १ हजार ४९० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

किन बढ्दैछ सुनको भाउ ?

विश्व बजारका लागानीकर्ताहरु सुनप्रति आकर्षित हुँदा त्यसको असरका कारण नेपाली बजारमा पनि सोही अनुसारको मूल्य वृद्धि हुँदै आइरहेको छ । विश्व अर्थतन्त्रमा देखिएको मूल्य वृद्धिको असरका कारण सुनको भाउ स्थानीय बजारमा पनि बढेको हो । साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा झरेको थियो । हाल भने प्रतिऔंस १९८५ डलर हाराहारीमा छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार विकासशील अर्थतन्त्रहरूको समूह (ब्रिक्स) भनेर चिनिने ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले डलरको एकाधिकारलाई अन्त्य गर्दै विश्वमा छुट्टै मुद्रा प्रचलनमा ल्याउने गर्दा त्यसको कारण पनि सुनको भाउमा वृद्धि आएको हो । उनले भने, “संसारको फाइनान्न्सियल सिस्टम नै चेञ्ज हुन लागेका कारण त्यो परितवर्तनले सुनमा धेरै उछाल आउने सम्भावना देखिएको छ ।”

सुनको भाउमा वृद्धि हुने अर्को कारणमा रुस युक्रेनबीचको युद्ध पनि रहेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरमा आएको उत्तारचढाव लगायत कारण पनि छन् । नेपालको हकमा चालु आर्थिक वर्षको बजेटमा बढाएको सुनको भन्सार दरका कारण पनि भाउमा वृद्धि भएको उनले बताए ।

सरकारले चालु आवको बजेट मार्फत सुनमा लाग्दै आएको भन्सारदर ५० प्रतिशतले बढाएको थियो । अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट मार्फत सरकारले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएको थियो । यसअघि व्यवासयीहरुले प्रति दश ग्राममा ८ हजार ५ सय रुपैयाँ भन्सार दर तिर्दै आएकोमा अब १२ हजार ७५० रुपैयाँ तिर्नुपर्ने भएको छ । सुनको भन्सारदर ४ हजार २५० रुपैयाँले बढाएको थियाे ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २१ सय डलरसम्म पुग्ने आंकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।