प्रभु इन्स्योरेन्सको नेप्सेमा सेयर कारोबार रोक्का

0
Shares

प्रभु इन्स्योरेन्स लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार रोक्का भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम कम्पनीको कारोबार रोक्का गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि सार्वजनिक जानकारीमा नल्याएपछि नेप्सेले कारोबार रोक्का राख्दै स्पष्टिकरण मागेको हो ।

धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । तर कम्पनीले असार २७ गते हकप्रद जारी गर्ने निर्णय गरेपनि साउन ४ गते मात्र नेप्सेमा जानकारी दिएको थियो ।

प्रभु इन्स्योरेन्स लिमिटेडले मिति २०८० असार २७ गते सञ्चालक समितिको बैठक बसी चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय गरेको थियो । सो जानकारी कम्पनीले नेप्से समक्ष साउन ४ गते मात्र उपलब्ध गराएको हो ।

कम्पनीको धितोपत्रको कारोबार स्थगन गर्दै नेप्सेले हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय गरेपनि के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।