सेयर धितोकर्जाको जोखिमभार पुनरावलोकन हुने भएपछि नेप्सेमा उछाल

0
Shares

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेकोे छ ।

राष्ट्र बैंकले आइतवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणा गरेको हो । राष्ट्र बैंकले यसअघि सेयर कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु¥याएको थियो ।

सेयरधितो सहज हुने भएपछि आइतबारको सेयर बजारमा उछाल आएको छ । आइतबार नेप्से सूचक ६३ अंकले बढेको छ भने ४ अर्ब ३७ करोड बढीको कारोबार भएको छ ।

हाल सेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत रहेको छ । लगानीकर्ताले यसलाई घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने माग गरिरहेका छन् ।

आइतबार नेप्से परिसूचक समग्रमा ६३.२४ अंक बढेर २२२७.२४ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाई भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ज्योति विकास बैंकको करिब १४ करोडको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।