आईएमएफको मिसन टोलीले भेट्यो योजना आयोग उपाध्यक्ष, १६औँ योजना तर्जुमाको विषयमा चासो

0
Shares

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ ।

आईएमएफको नयाँ मिसन चिफको रूपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो ।

१६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पूँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरूका विषयमा समेत छलफल भएको थियो ।

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए ।

जुलाई २० मा नेपाल आएको आईएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरू सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।