विदेशी सञ्चितिमा आएको गिरावटका कारण बंङ्लादेशको रेटिङ नेगेटिभ

0
Shares

बंङ्लादेशको विदेशी सञ्चितिमा आएको गिरावटका कारण ग्लोबल रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले बंङ्लादेशको रेटिङ घटाएको छ।

वर्तमान अवस्थामा बंङ्लादेशको विदेशी सञ्चिति २९ अर्ब ८५ करोड डलर रहेको छ । बंङ्लादेशको केन्द्रीय बैंक बंङ्लादेश बैंकको तथ्यांक अन्ुसार गत वर्ष जुलाई महिनामा बंङ्लादेशको विदेशी सञ्चिति ३९ अर्ब ५९ करोड ९९ लाख अमेरिकी डलर थियो । एक वर्षको अवधिमा बंङ्लादेशको विदेशी सञ्चिति ९ अर्ब ७४ करोड डलरले घटेको छ । बंङ्लदेशलाई पेट्रोलियम पदार्थ आयात गरेको रकम तिर्न समेत मुस्किल परिरहेको छ ।

विदेशी सञ्चितिमा आएको गिरावटका कारण बंङ्लादेशको क्रय शक्ति मात्रै नभई बाह्य ऋण भुक्तानीमा समेत समस्या परेको छ । बंङ्लादेशले समयमा नै उचित कदम चालेन भने देशले बाह्य ऋण तिर्न नसक्ने अवस्था सिर्जना हुने आकलन एस एन्ड पी ग्लोबलले गरेको छ । जसकारण एजेन्सीले दीर्घकालीन वैदेशिक ऋणका लागि डबल बी माइन्स र अल्पकालीन वैदेशिक कर्जाका लागि बी रेटिङ गरेको हो ।

बढ्दो चालु खाता घाटा, खस्किदै गरेको विदेशी सञ्चितिले बंङ्लादेशको रेटिङ गिरावटमा महत्वपूर्ण भूमिका खेलेको एस एन्ड पी ग्लोबलले जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण खाद्यान्न तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बाङ्लादेशको विदेशी सञ्चितिमा निरन्तर गिरावट आएको छ । बंङ्लादेशले पेट्रोलियम पदार्थको आयात घटाइ नवीकरणीय उर्जाको प्रयोगमा विशेष जोड दिनुपर्ने एस एन्ड पीले सुझाएको छ ।

रुस र युक्रेन युद्धबीच खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण बंङ्लादेशको क्रय क्षमता घट्दै गएपछि बाङ्लादेशले अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग ४ अर्ब ७० करोड डलर बराबरको ऋणका लागि अपिल गरेको थियो । १७ करोड मानिसहरु बसोबास गर्ने बंङ्लादेशको विदेशी सञ्चिति दिनानुदिन घट्दै गएता पनि आइएमएफले स्वीकृत गरेको उक्त ऋण बंङ्लादेशले पाउन सकेको छैन ।

पछिल्लो समयमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा अधिकांश दक्षिण एशियाली राष्ट्रहरुको विदेशी सञ्चितिमा गिरावट आएको छ । मुख्यतयाः श्रीलंका, पाकिस्तान, बंङ्लादेश र नेपालमा उक्त समस्या देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।