आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। कार्यालयले गत आर्थिक वर्षमा २६ अर्ब २६ करोड ५९ लाख ७३ हजार रुपैयाँ लक्ष्य पाएकोमा २० अर्ब ४७ करोड ५ लाख ९७ हजार रुपैयाँ राजस्वमात्रै संकलन गरेको हो।
लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी दिए। उनका अनुसार लक्ष्यभन्दा ५ अर्ब ७९ करोड ५३ लाख ७६ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो।
आयकरतर्फ लक्ष्यको ८३ दशमलव २१ प्रतिशत अर्थात् २ अर्ब ५१ करोड २० लाख ९७ हजार रुपैयाँ, बहालकरतर्फ लक्ष्यको ८३ दशमलव ६१ प्रतिशत अर्थात् ४ करोड ६४ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यस्तै, ब्याजकरतर्फ ८२ दशमलव १७ प्रतिशत अर्थात् १ करोड १२ लाख २४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ८१ दशमलव ६८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ३९ लाख पाँच हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ७६ दशमलव ६६ प्रतिशत अर्थात् १५ अर्ब ९६ करोड ५ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य सेवा करतर्फ १ सय ६१ दशमलव ६१ प्रतिशत अर्थात् २ करोड ६२ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।
ढकालका अनुसार बजारमा उत्पादित सामग्रीको मागको सङ्कुचनका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो। मागको सङ्कुचनका कारण उत्पादन घट्दा राजस्वमा पनि कमी आएको छ।
उनले भने, ‘मागको सङ्कुचनका कारण आर्थिक गतिविधिमा शिथिलता आएको देखियो। जसका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन।’
कोभिड-१९ पछिको आर्थिक तरलताको प्रभाव बजारमा देखा पर्न थालेको उनले बताए। अघिल्लो आवमा लक्ष्यअनुसार राजस्व संकलन भए पनि गत आर्थिक वर्ष भने कम भएको हो।
अघिल्लो आर्थिक वर्षमा २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकामा २२ अर्ब दुई करोड ३२ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। सो वर्ष लक्ष्यभन्दा एक प्रतिशत राजस्व बढी संकलन भएको उनले बताए।
कार्यालयले खैरहनीमा समेत राजस्व संकलन केन्द्र स्थापना गरी राजस्व संकलन गर्दै आएको छ। जिल्लामा व्यक्तिगत प्यान लिने एक लाख ४४ हजार दुई सय ९८ र व्यावसायिक प्यान लिने ६८ हजार ५ सय ९० जना रहेका छन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया