
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको हो ।
यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ । यस्तै, बागमती प्रदेशमा सञ्चानल हुने मालवाहक सवारीसाधनको भाडा १३.७४ रुपैयाँ प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ ।
विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र यात्रुवाहक सवारीसाधन ट्याक्सीको हकमा भने २०७९ को वैशाख १ देखि जारी भाडा दर नै कायम रहेको मन्त्रालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया