बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्रबहादुर बुढाथोकी यतिबेला अलैँची स्याहर सुसार गरिरहेका छन् । सुन्तला खेतीबाट व्यावसायिक कृषि पेसा थालेका बुढाथोकी क्रमशः अलैँची खेती, बङ्गुरपालन र तरकारी खेतीमा लागेको मात्रै छैन आफ्नो वडामा व्यावसायिक कृषक जन्माउन उनको ठूलो हातसमेत छ ।
विसं २०६८ मै २०० सुन्तलाका बिरुवा लगाएर सुन्तला खेती थालेका बुढाथोकीलाई परिवारले धान खाने खेत मासेर रुख रोपेको भन्दै गालीसमेत गरे । अहिले वर्षमा सुन्तला खेतीबाटै झन्डै ३ लाख रुपैयाँ कमाइ भएर धान खेतीभन्दा तेब्बर नाफा भएपछि परिवारका व्यक्तिसमेत बुढाथोकीको कृषि कर्मलाई सघाउन थालेका छन् ।
गलकोटकै बढी व्यावसायिक कृषक रहेको दुदिलाभाटीमा किसानलाई व्यावसायिक बनाउन थालेका बुढाथोकीले किसानकै मनमा बसेको र जनतामा परिचित भइसकेको पत्तै पाएनन् । फलस्वरुप २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट–१ को वडाध्यक्ष निर्वाचित भएको थियो ।
“विसं २०६८ मा कृषि विकास कार्यालयमार्फत १५ रुपैयाँका दरले २०० सुन्तलाका बिरुवा पाँच रोपनी धान फल्ने खेतमा लगाएको थिएँ, ५० बिरुवा मरे, अहिले १५० बिरुवाले उत्पादन दिइराखेका छन्, गत वर्षमात्रै सुन्तला बिक्री गरेर तीन लाख रुपैयाँ कमाएको थिएँ”, बुढाथोकीले भने, “सुन्तलासँगै व्यावसायिक तरकारी र अलैँची खेतीको सम्भावना देखेर स्थानीयलाई व्यावसायिक उत्पादनमा लगाउन थालेपछि जनतासँग नजिक भइयो, २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि नगरपालिका र वडाको बजेट समेत कृषिमा केन्द्रित गरेँ, अहिले यस वडामा आलु पकेट, बाख्रा पकेट, अलैँची ब्लक र किबी पकेटका कार्यक्रम सञ्चालित छन् ।”
बुढाथोकीले सुन्तलाको आम्दानी बढे पनि अलैँची, तरकारी र बङ्गुरपालन नयाँ भएकाले लगानीमै रहेको जानकारी दिए । सुसङ्गम फलफूल तथा पशुपालन केन्द्र नामको फार्म दर्ता गरेका बुढाथोकीले पाँँच रोपनी धान खेतमा सुन्तला खेती गर्दै आएको छ । यस्तै उनले घुसुवा बालीका रूपमा सोही क्षेत्रफलमा अलैँची खेती गर्दै आएको हो ।
“सुरुमा सुन्तलाका बिरुवा लिएर रोप्न खोज्दा बुवाले दिएनन्, अनि मकै लगाएर बीचमा सुन्तला लगाएँ”, उनले भने, “धान खेतको लगानीबाट भन्दा सुन्तला खेतीबाट तेब्बर कमाउन सकिन्छ, मेरो परिवारले मात्रै होइन सबै किसानले बुझिसकेका छन्, अहिले बागलुङमा ठूलो आम्दानीको रूपमा सुन्तला खेती छ ।”
गत वर्ष २८ क्विन्टल सुन्तला १०० रुपैयाँ भन्दा माथिल्लो भाउमा घरबाटै बिक्री गरेको बुढाथोकीको भनाइ छ । आफ्नै वडाध्यक्षको कार्यकालमा वडामा अलैँची ब्लक क्षेत्र कार्यक्रम स्थापना भएपछि आफूसमेत पुनः अलैँची खेतीमा लागेको उनको भनाइ छ । अहिले दुदिलाभाटीमै अलैँची बिक्रीबाट एकै किसानले वर्षमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी गरिरहेको बुढाथोकीले जानकारी दिए ।
उनले कृषि ज्ञान केन्द्रको सहयोगमा चार लाख रुपैयाँ लागतमा एउटा हाइटेक टनेल स्थापना गरेर व्यावसायिक तरकारी खेती गर्दै आएको छ । कृषिमा प्राप्त सफलतापछि बुढाथोकीले पशुपालनमा आकर्षित भएर १० लाख रुपैयाँ लगानीमा तीन वर्षदेखि बङ्गुर फार्मसमेत सञ्चालनमा ल्याएको छ ।
बुढाथोकीको बङ्गुर फार्ममा अहिले साना–ठूला १८ बङ्गुर रहेका छन् । ४०० रुपैयाँ प्रतिकिलोमा स्थानीय हटिया, नरेठाँटीलगायतका बजारमा बङ्गुरको मासु बिक्री हुने गरेको छ । तीन माउ राखेर सुरु गरेको बङ्गुरपालन व्यवसाय फस्टाउँदै गएको र १० लाख रुपैयाँ लगानी केही वर्षमै उठ्ने उनको विश्वास छ । विसं २०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्ष हुनुभन्दा पहिलासमेत कृषिमै भएकाले जनप्रतिनिधि भइसकेपछि समेत पुरानै अवस्थामा फर्किएको उहाँको भनाइ छ ।
आफ्नो वडाध्यक्षको कार्यकालमा कृषिमा बजेट बढाउने, कृषि भ्रमण गराउने, वडामा किबी पकेट कार्यक्रम लागू गर्नेलगायतका काम गरेको उनको भनाइ छ । अहिले दुदिलाभाटीमा किबीको मात्रै पाँच हजार बिरुवा लगाइएको जानकारी दिए । कृषि र पशुपालनबाट बचत भएको समयमा बुढाथोकी सामाजिक कामसँगै राजनीतिमा समेत सक्रिय रहँदै आएको छ । पूर्ववडाध्यक्ष रहनुभएका बुढाथोकी राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्य समेत रहेका छन् । राजनीति र जनप्रतिनिधि भनेको पेसा नभएर सेवा भएकाले आर्थिक जीवनस्तर उकास्न र अरुलाई उदाहरणीय बन्नका लागि आफू कृषि तथा पशुपालनमा लागेको उनको भनाइ छ ।
“अहिले जनप्रतिनिधलाई जागिरका रूपमा लिने प्रचलन छ, त्यस्तो होइन, जनप्रतिनिधि हुनुभन्दा पहिला किसान थिएँ, अहिले पनि किसान छु, जनप्रतिनिधि भएर अरुलाई यो गर त्यो गरभन्दा आफूले पनि त केही गरेर देखाउनपर्यो”, उनले भने । बुढाथोकीको घर फार्म नजिकै कृषि निर्देशनालयको १० लाख रुपैयाँको लागतमा कृषि उपज सङ्कलन केन्द्रसमेत निर्माण गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया