सन नेपाल लाइफको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए ५० कित्तासम्म शेयर


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँमा शेयर निष्कासन गरेको थियो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो, जसमा २७ हजार ९०५ आवेदकबाट कुल १७ लाख ७२ हजार ६२० कित्ता खरीदका लागि आवेदन परेको थियो । त्यसमध्ये २७ हजार ९०१ आवेदकबाट परेको १७ लाख ७२ हजार ६२० कित्ता सदर भएको छ भने ४ आवेदकबाट परेको ३१० कित्ता बदर भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ, जसअनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन दिने ९ हजार ७४ जनाले मागबमोजिम शेयर पाएका छन् । यी आवेदकलाई १ लाख ९० हजार ६४० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

यसैगरी ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने १८ हजार ८२७ आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् । यी आवेदकहरूलाई ७ लाख ५३ हजार ८० कित्ता बाँडफाँड गरिएको छ । त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदक मध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।