भारतीय गाडीलाई निषेध गर्नुपर्ने माग राख्दै ट्याक्सी चालकहरु प्रदर्शनमा


ट्याक्सी चालकहरुले भारतीय गाडीलाई निषेध गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका छन् । मजदूर चालक स्वतन्त्र संघर्ष समितिको आह्वानमा बिहीबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि भेला भइ नेपाली भुमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने बताउँदै उनीहरुले भाडाको काम गर्ने निजी प्रयोजनमा सवारीसाधन तत्काल बन्द गरी माग गरेका हुन् ।

यस्तै उनीहरुले काठमाण्डौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अंग्रेजीमा लेखिएको इम्बोष्ट नम्बर हटाएर नेपाली कायम गर्नुपर्ने, नेपालभरिका ट्याक्सी भाडादर एउटै कायम गरि अन्तर्राष्ट्रिय नीति लागू गर्नुपर्ने लगायतका माग राखेका छन् ।

तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागु गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानुन खारेज गर्न पनि माग गरेका छन् ।

निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरुको असन्तुष्टि रहेको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठ बताए । बिरोध प्रदर्शनका क्रममा बोल्दै उनले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरीत भएको बताए ।

सम्पूर्ण सवारीको चालकहरुलाई समान व्यवहार गर, ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ साउन २०८०, बिहीबार  १२ : ५६ बजे