कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल विच सम्झौता

0
Shares

कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल विच वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होमस्टे (घरबास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरे।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले होमस्टे (घरबास) एशोसियसन नेपालसंग गरिएको यस प्रकारको सम्झौताले नेपालका ग्रामिण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारीकरण, स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरे । उपाध्यायका अनुसार बैंकले गरेको यो सम्झौताले नेपाल सरकारले ल्याएको भ्रमण बर्ष २०२० को कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुग्नुका सााथै समृद्ध नेपाल सुखी नेपालीको नारा सफलिभुत पार्न समेत सहयोग पुग्ने आशा व्यक्त गरे।

उक्त अवसरमा होमस्टे (घरवास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले यस प्रकारको सम्झौताबाट दरुदराजमा रहेका होमस्टेहरुमा प्रकृति तथा स्थानिय संस्कृतिसंग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई स्थानिय रितिरिवाज, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ बन्यजन्तु संरक्षण गर्न र दिगो जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरे।

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार होमस्टे (घरवास) एशोसियसन नेपालमा आवद्ध देशभरका करीब १००० होमस्टे संचालकहरुलाई परियोजना संचालन गर्न आवश्यकपर्ने कर्जा उपलब्ध गराउनुका साथै एसोसियसनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा बैंकले सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउनेछ ।

उनका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम/सहयोग समेत गर्नेछ ।