आइतबार कारोबार खुलेका दुई हाइड्रोमा सकारात्मक सर्किट लाग्दा घोराहीमा नकारात्मक

0
Shares

आइतबार कारोबार खुला भएका तीन कम्पनीमध्ये दुई हाइड्रोपावर कम्पनीहरु अपर स्याङ्गे हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आइतबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात २५ रुपैयाँ ५० पैसाले बढेर २८० रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको आइतबार पहिलो कारोबार २५५ रुपैयाँमा खुला भएको थियो । दिनभरमा कम्पनीको ३ हजार ९५१ कित्ता सेयर ११ लाख ७ हजार १३२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

थ्रीस्टार हाइड्रोपावरको सेयर ‘टीएसएचएल’ (TSHL) संकेतमा कारोबारमा आएको छ । थ्री स्टारको सेयर दोस्रो बजारमा कारोबार सुरु गर्नका लागि नेप्सेले २८५ रुपैयाँ ६५ पैसादेखि २५६ रुपैयाँ ९५ पैसाको प्राइस रेञ्ज तोकेको थियो । कम्पनीको सेयर नेप्सेले तोकेको अधिकतम रेञ्जहाराहारीमा नै पहिलो कारोबार खुला भएको थियो ।

थ्रीस्टार हाइड्रोपावरले संस्थापक लगानीकर्ता, सर्वसाधारण, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको समेत कुल ४९ लाख २५ हजार कित्ता सेयर साउन २५ गते बिहीबार सूचीकृत गराएको थियो ।

यस्तै अर्को जलविद्युत कम्पनी अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात २५ रुपैयाँ ३० पैसाले बढेर २७८ रुपैयाँ ९० पैसा पुगेको छ । कम्पनीको आइतबार पहिलो कारोबार २५३ रुपैयाँ ६० पैसामा खुला भएको थियो । दिनभरमा कम्पनीको ४ हजार १९७ कित्ता सेयर ११ लाख ६८ हजार ७३३ रुपैयाँमा खरिद बिक्री भएको छ ।

अपर स्याङ्गे हाइड्रोपावरको सेयर ‘यूएसएचएल’ (USHL) संकेतमा कारोबारमा आएको छ । अपर स्याङ्गेको दोस्रो बजारमा कारोबारका लागि न्यूनतम ८४ रुपैयाँ ५४ पैसादेखि अधिकतम २५३ रुपैयाँ ६२ पैसा आपनिङ रेञ्ज तोकिएको थियो । यस कम्पनीको सेयर पनि नेप्सेले तोकेको अधिकतम रेञ्जहाराहारीमा नै कारोबार खुला भएको हो ।

अपर स्याङ्गे हाइड्रोपावरले बिहीबार संस्थापक लगानीकर्ता, सर्वसाधारण, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको समेत कुल २२ लाख कित्ता सेयर सूचीकरण गरेको थियो ।

नेप्सेमा प्रिमियम मूल्यमा आईपीओ बेचेको घोराही सिमेन्टसको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नेप्सेमा अनुसार प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा पहिलो कारोबार खुलेको सिमेन्ट इन्डष्ट्रिजको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात ५६ रुपैयाँ ५० पैसा घटेर ५०९ रुपैयाँमा झरेको हो । कम्पनीको पहिलो दिनमा नै ४ लाख ४६ हजार ६८७ कित्ता सेयर कारोबार भएको छ । उक्त सेयरहरु कुल २३ करोड १५ लाख ६८ हजार ३८३ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

घोराहीको सेयर दोस्रो बजारमा ‘जीसीआईएल’ (GCIL) संकेतमा कारोबारमा आएको छ । घोराही सिमेण्टको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसाको कारोबार रेञ्ज तोकेको थियो । घोराहीको सेयर नेप्सेले तोकेको अधिकतम रेञ्जभन्दा ११५ रुपैयाँमा कममा कारोबार खुला भएको थियो ।

घोराहीले साउन २५ गते बिहीबार कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकरण गरेको थियो । जसमध्ये कम्पनीले सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता, वैदेशिक रोजगारीमा गएकाहरुमा ६ लाख ६ हजार ३५० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दामा ७७ हजार २९० कित्ता, सामुहिक लगानी कोषहरुमा ३ लाख २८ हजार ९६१ कित्ता र कम्पनीका कर्मचारीमा १९ हजार ५३० कित्ता सेयर बाँडफाँड गरेको थियो ।

आइतबार नेप्से १४.८१ अंकले बढेर २०८० दशमलव ८६ बिन्दुमा रहँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँमा खरिद बिक्री भएको छ । कुल २७१ कम्पनीका ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ९५ हजार ९६५ वटा संख्यामा खरिद बिक्री भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।