कसले किन्यो आईएमई ग्रुपले बेचेको नेपाल इन्स्योरेन्सको १९ लाख कित्ता संस्थापक सेयर ?


२ अलग अलग निर्जीवन बीमा कम्पनीमा ठुलो रकम लगानी गरेको आईएमई ग्रुपले लामो समयको रस्साकस्सी पछि नेपाल इन्स्योरेन्सबाट आफ्नो लगानी झिकेको छ ।

गत वर्ष नै कुनै एक कम्पनीमा मात्र लगानी सिमित गर्न वा क्रस होल्डिङका आधारमा मर्जरमा जान नियामकीय दवाब खपेको आईएमई ग्रुपले आईजिआई प्रुडेन्सियलमा आफ्नो लगानी यथास्थितीमा राख्दै नेपाल इन्स्योरेन्सको सेयर बेचेको हो ।

यस अघि नै आईएमई ग्रुपको स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार ६१७ कित्ता सेयर खरिद गर्नका लागि संस्थापकहरुलाई लक्षित गर्दै लिलामीको सूचना निकालेकोमा संस्थापकहरुले ३ लाख ६४ हजार ५४० कित्ता सेयर सकारेका थिए । उक्त लिलामीमा क्रिी नभएको सेयर पुन साउन ७ देखि भदौ १५ गतेसम्म लिलामीमा राखिएको थियो ।

नेपाल इन्स्योरेन्सको साढे १९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणले समेत खरिद गर्न सक्ने गरी लिलामीमा राखिएको उक्त सेयर एशियन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ३०० रुपैयाँको दरमा सकार्ने बोलकबोल गरेको थियो । उक्त बोलकबोल अनुसार आइतबार नेपाल स्टक एक्सचेञ्जमा आईएमई ग्रुपले सेयर दलाल नम्बर ४२ सनी सेक्युरिटिजबाट एशियन लाइफ इन्स्योरेन्सलाई ४४ नम्बरको डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजबाट सेयर हस्तान्तरण गरेको हो ।

आईएमई ग्रुपले एशियनलाईलाई प्रतिकित्ता ३०० रुपैयाँको दरमा १९ लाख ४८ हजार ५३८ कित्ता सेयर ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा बेचेको हो ।

आईएमई ग्रुपसँग रहेको यही सेयरका कारण गत वर्ष तत्कालीन आईएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका बिचमा मर्जरको हल्ला चलेको थियो । नेपाल इन्स्योरेन्स, आईएमई जनरल र प्रडेन्सियलका बीचमा मर्ज हुने हल्ला पनि चलेकोमा ग्रुपले आईएमई जनरललाई प्रुडेन्सियलसँग मर्जर गराई नेपाल इन्स्योरेन्सबाट आफ्नो लगानी झिक्ने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।