गोल्यानको सिटि होटलको नोक्सानी बढ्यो, २७ करोड बढी ऋणात्मक

0
Shares

सिटि होटल लिमिटेडले गत आर्थिक वर्षमा नोक्सानीमा गएको छ । व्यापारिक घराना गोल्यान ग्रुप तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका पवन गोल्यानको लगानी रहेको उक्त होटलले आशातित प्रगति गर्न नसकेको हो ।

काठमाण्डौंको सोल्टीमोडमा ‘हायात प्यालेस’ को नाममा सञ्चालनमा रहेको पाँचतारे होटलको असार मसान्तसम्ममा खुद नाफा २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवमा ४ करोड ४६ लाख ८२ हजार नोक्सानीमा रहेको होटल गत आवमा २२ करोड ८९ लाख बढीले थप नोक्सानीमा गएको हो ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ । अघिल्लो आवमा १८ करोड ९१ लाख ६४ हजार आम्दानी गरेको होटलले गत आवमा १५०.१३ प्रतिशत बढी ४७ करोड ३१ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ । यद्यपी वित्तीय खर्च उल्लेख्य बढेका कारण होटलको नोक्सानी गहिरिएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलको कुल आम्दानी समीक्षा अवधिमा १६१.५७ प्रतिशत बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा होटलको कुल खर्च १६४.४६ प्रतिशत बढेर ३६ करोड७१ लाख ६७ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ६४१.४६ प्रतिशत बढेर ३५ करोड ३६ लाख ६७ हजार पुगेको छ ।

असार मसान्तसम्ममा होटलको वार्षिक प्रति सेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ । यस्तै प्रति सेयर नेटवर्थ १०४ रुपैयाँ छ ।
होटलले गत आवमा आफ्नो पुँजीको १० प्रतिशत बराबरको १६ करोड ७४लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गरेको छ । उच्च घाटा खाएको भएपनि होटलको सेयर दोस्रो बजारमा प्रतिकित्ता ७१२ रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।