नेपाल भियतनाम सिधा हवाई उडानका लागि पहल


नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भावना रहेको बताएका छन् । यसका लागि आफूले पहल गर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको धारणा राखेका थिए ।

“हामीले भारतका विभिन्न सहरमा सिधा उडान सञ्चालन गरिरहेका छौं र यो अझै विस्तार हुने क्रममा छ,” नेपालका लागि गैरआवासीय राजदूत न्गुयेन थान हाईले भने, “नेपाली पक्षले पनि सिधा उडानका लागि पहल गर्नुपर्छ र हामी आफ्नो तर्फबाट सिधा उडानका लागि प्रयास गर्नेछौं ।”

राजदूत न्गुयेन थान हाईले नेपालको काठमाडौं र लुम्बिनीमा सिधा उडानको सम्भावना रहेको उल्लेख गर्दै उडानसँगै पर्यटन लगायत अन्य क्षेत्रमा सहकार्य विस्तार हुने धारणा राखे । नेपालबाट अष्ट्रेलिया, युरोपलगायत तेस्रो मुलुक जाने पर्यटकलाई पनि भियतनाम ट्रान्जिट भएर जान सहज हुने उनको भनाई छ ।

यसअघि भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरेका थिए । श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्न सक्ने भएकाले व्यापारमा सहजीकरणका लागि समेत राजदूत न्गुयेन थान हाईसँग आग्रह गरे । दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदान प्रदानका लागि कन्सुलर श्रेष्ठले आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मल्होत्राले पनि भियतनाममा रहेका बुद्धमार्गीहरुलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए । उनले नेपाल र भियतनामका जनता साँस्कृतिक रुपमा नजिक रहेको उल्लेख गर्दै कनेक्टिभिटी बढाएर सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे ।

संघका उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गरे । भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गर्दै बुद्ध धर्मावलम्बीलाई बुद्धको जन्मभूमीमा भित्र्याएर नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।