युनिलिभर नेपालको प्रतिसेयर आम्दानी २ हजार नजिक, सेयर मूल्य ३७ हजार

0
Shares

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ८३ करोड खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९ प्रतिशत बढी हो। कम्पनीले अघिल्लो आवमा १ अर्ब ५४ करोड नाफा कमाएको थियो।

कम्पनीको व्यापार बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ थियो

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेन्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ।

त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५८.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी १६.३४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५.२५ प्रतिशत बढेको छ। कम्पनीको कच्चा पदार्थलगायतको खर्च तीन अर्ब ९६ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यस्तै कर्मचारी खर्च पनि ५२ करोड ३३ लाखबाट बढेर ५९ करोड पुगेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ। कम्पनीसँग हाल ६ अर्ब ३३ करोड रुपैयाँ अधिकको सम्पत्ति छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१२ रुपैयाँ ७० पैसा बढेर १ हजार ९८६ रुपैयाँ ९७ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।