विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कन्सर्नले ९ महिनामा बेच्यो साढे एक अर्बको विदेशी मदिरा

0
Shares

व्यापारिक घराना विशाल ग्रुपको लगानी रहेको ग्लोबल ट्रेडिङ कन्सर्नले आर्थिक वर्ष २०७९/८० को ९ महिनामा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा २ करोड ९१ लाख ४० हजार सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको तथ्यांकलाई आधार मानी कम्पनीको अघिल्लो आवको आम्दानीसँग तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी २८.८५ प्रतिशतले घटेको हो ।

कम्पनीको आम्दानीमा आएको गिरावटसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत गिरावट आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा गत आवको ९ महिनामा कुल सञ्चालन आम्दानीको ८.२ प्रतिशत छ जुन अघिल्लो आवमा ९.१ प्रतिशत थियो ।

सन् १९९८ मा स्थापना भएको कम्पनीले अन्तराष्ट्रिय ब्रान्डका विलासी मदिरा–जोनी वाकर, भ्याट ६९, जेपी चेनेट लगायतका विलासी मदिराको आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

पछिल्लो समयमा अन्तराष्ट्रिय बजारमा नेपाली मुद्रा कमजोर हुँदै गएको छ । नेपाली रुपैयाँको विरुद्धमा डलर बलियो हुँदै जाँदा कम्पनीलाई थप आर्थिक भार परेको छ । यस्तै मदिराको आयातलाई लिएर नेपाल सरकारले विभिन्न समयमा कडाइ गर्दै आएको छ । यी कारणहरुले गर्दा कम्पनीको आम्दानी प्रभावित बनेको छ ।

कम्पनीका अध्यक्ष आशिष कुमार अग्रवाल रहेका छन् । विशाल ग्रुप कम्पनीको प्रमोटर हो ।

कम्पनीले १ अर्ब ३४ करोड ७५ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ११ करोड ७२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र १ अर्ब २३ करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।