लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामै, दैनिक कारोबार डेढ अर्बमा सीमित

0
Shares

लगातार तीन कारोबार दिनमा ५० अंकभन्दा बढीले घटेको बजारमा पनि सेयर लगानीकर्ताले लगानी बढाउन नचाहेको देखिएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि दैनिक कारोबार रकम डेढ अर्बमा नै सीमित हुनुले पनि बजारमा लगानीकर्ता अझै लगानी गर्न तयार नदेखिएका हुन् ।

आजको बजारमा २७१ स्टकको ४० लाख ९ हजार २६३ कित्ता सेयर ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन पनि २० अंक बढीले घटेर १ अर्ब ६७ करोडको सेयर खरिद बिक्री भएको थियो ।

बिहीबाार नेप्से ८.०१ अंक बढेर २०३३.१३ बिन्दुमा पुगेको छ । त्यसैगरी यसदिन ठूला कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेर ३८७.३८ बिन्दुमा पुगेको छ । काराबोरमा आएका १३ उपसमूहमध्ये सूचकमध्ये म्युचुअल फन्ड बाहेक सबै १२ वटै उपसमुहगत सूचक बढेका छन् । व्यापार सर्वाधिक २.५३ प्रतिशत बढेको छ । होटल तथा पर्यटनमुलक २ प्रतिशत बढेको छ भने बाँकी सबै एक प्रतिशतभन्दा कम छ ।

आज सोल्टी होटलको सर्वाधिक सेयर कारोबार भएको छ । होटलको १३ करोड ७१ लाख ५ हजारको सेयर कारोबार भएको छ । पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएपछि सोल्टीले उच्च नाफा बढाएर साढे ५४ करोड खुद नाफा कमाएको वित्तीय विवरण सर्वजनिक गरेको छ ।
यस्तै आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ७९ लाख, घोराही सिमेन्टको ५ करोड १६ लाख, शिवम् सिमेन्टको ४ करोड ४२ लाख र हिमालयन डिष्टिलरीको ३ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाईमूल्यमा सकारात्मक सर्किट लागेको छ । मूल्य बढेसँगै ९ रुपैयाँ ३५ पैसा पुगेको छ । यस्तै लिबर्टी इनर्जीको सेयर मूल्य ९.७४ प्रतिशत, अप्पर साङ्गे हाइड्रोपावरको ६.१७, सगरमाथा जलविद्युत कम्पनीको ५.७७ प्रतिशत र आशा लघुवित्तको ४.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आजको बजारमा लक्ष्मी इक्वीटी फन्डको इकाईमूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेर ८ रुपैयाँ ३५ पैसामा झरेको छ । यस्तै मेन्छियम हाइड्रोपावरको ४.४१ र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ४.२१, सुपर माई ३.९० र बलेफी हाइड्रोपावरको ३.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।