विद्युतीय सामाग्री बिक्रेता अन्नपूर्ण ग्लोबल इम्पेक्सको ९ महिनाको कारोबार ६० करोड

0
Shares

राठी ग्रुपको लगानी रहेको अन्नपूर्ण ग्लोबल इम्पेक्सले आर्थिक वर्ष २०७९/८० को ९ महिनामा ५९ करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६५ करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा कम्पनीको आम्दानी २० प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै अन्य वित्तीय सूचांकमा पनि सकरात्मक सुधार देखिएको छ । अघिल्लो आवमा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको १६ प्रतिशत थियो भने गत आवको ९ महिनामा सो नाफा बढेर २२.२ प्रतिशत पुगेको छ ।

सन् २००६ मा स्थापना भएको कम्पनीले विद्युतीय सामाग्रीहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ । प्रख्यात राठी ग्रुपले लाइटिङ एन्ड लुमिनारिज, इन्डष्ट्रियल स्वीच गियर, वाटर पम्प, ब्याट्रीहरुको बिक्री वितरण गर्दै आएको छ । राठी ग्रुपको पारिवारिक लगानीमा सञ्चालन भएको यस कम्पनीमा जितेन्द्र कुमार राठीको ६० प्रतिशत र राजेन्द्र कुमार राठीको ४० प्रतिशत लगानी रहेको छ ।

कम्पनीले १ अर्ब २० करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ४५ करोड ९२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ७४ करोड १० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कसल कर्जाको १.३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।