रिडी हाईड्रोले पारित गर्यो लाभांस, चैत मसान्तमा ८.५ मेगावाटको सौर्य विद्युत आयोजना सञ्चालनमा ल्याउने


रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई बितरण गर्ने लाभांस साधारण सभाबाट अनुमोदन गराएको छ । हाइड्रोको पुस ४ गते शुक्रबार सम्पन्न साधारण सभाले ५ प्रतिशत बोनस र ०.२६३१ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भएर बहने रिडीखोलामा २ हजार ४०० किलोवाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि २०६६ कात्तिक महिनादेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गरिरहेको छ । दोश्रोे आयोजनाको रुपमा पाँचथर तथा ताप्लेजुंङ जिल्लाको सीमाना भई बहने इवाखोलाको पानी उपयोग गरि ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युुत आयोजना २०७६ साउनमा निर्माण पुरा गरी असोज १ गतेदेखि राष्ट्रिय ग्रीडमा विद्युत आपूर्ति गर्न थाले पछि असोज २० गतेदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन थालेको छ ।

कम्पनीले लगानी विविधिकरण गर्ने उद्देश्य अनुसार सत्प्रतिशत लगानीमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा ८.५ मेगावाट क्षमताको ग्रीड कनेक्टेड सौर्य विद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना यसै वर्षको चैत्र महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

कम्पनीमा रिक्त रहेको सञ्चालक पदमा सविता बराललाई आउँदो कार्यकालसम्मको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नियुक्त गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । कम्पनीको सञ्चालक समितिमा गुरुप्रसाद न्यौपाने अध्यक्ष, कुवेरमणि नेपाल कार्यकारी निर्देशक, रमेश प्रसाद न्यौपाने सञ्चालक, र साइका भण्डारी रहेका छन् ।