माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा ८ लाख ५९ हजार भन्दा बढी आवेदकले सेयर नपाउने भएका छन् ।
आईपीओमा ९ गुणा बढी आवेदन परेका कारण सेयर नपाउने स्थिति सिर्जना भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४, बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ भाग्यमानी एक लाख २० हजार ५३२ आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।
कम्पनीको प्राथमिक सेयरमा ९ लाख ८० हजार ५३ आवेदकले एक करोड ६ लाख ८५ हजार ३३० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । उक्त आवेदनबाट २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९८० रुपैयाँ सङ्कलन भएको छ । कम्पनीले १२ लाख पाँच हजार ३२० कित्ताको लागि आवेदन आह्वान गरेको थियो ।
माण्डु हाइड्रोपावरले भदौ १० गतदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा जारी पूँजीको २ प्रतिशत अर्थात २ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्काशन गरेको थियो । सोमध्ये कर्मचारी र सामूहिक लगानी कोष बाँडफाँड गरि बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणको लागि आवेदन माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया