प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन् ।
नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए ।
प्रधानमन्त्री दाहालले व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गरेका छन् । “विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताका सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सरकारको सङ्कल्प छ”, उनले भने ।
प्रधानमन्त्री दाहालले पछिल्लो समय सरकारका तर्फबाट लिइएका पहल देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित रहेको बताए । “यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता तथा सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पु¥याउनसमेत आम जनसमुदायमा अपिल गर्दछु”, उनले भने ।
प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमका रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । जाति, भाषा र पर्वको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गरेको जनाउँदै उनले यो सबै नेपालीका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय भएको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया