धितोपत्र बोर्डका कारणले कर्मचारीको सेयर व्यवस्थापनका उच्च अधिकारीको कब्जामा

0
Shares

नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण सार्वजनिक निष्कासन गर्ने कम्पनीका उच्च अधिकारीले कर्मचारीलाई छुट्याएको सेयरको अधिक लाभ लिने गरेका छन् । बोर्डले कानुनी रुपमा कर्मचारीलाई सेयर दिने व्यवस्था गरेपनि कसरी र कस्तो मोडालिटिमा दिने भन्ने स्पष्ट नहुँदा माथिल्लो तहमा सिमित कर्मचारीले अस्वभाविक लाभ लिने गरेका हुन् ।

धितोपत्र बोर्डले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासीन्दा, बैदेशिक रोजगारीमा भएका नेपाली नागरिक तथा सामुहिक लगानी कोषलाई छुट्याएको सेयरको सन्दर्भमा बाँडफाँडको स्पष्ट कानुनी व्यवस्था गरेको छ । तर, कर्मचारीलाइ दिने सेयर कर्मचारीको संख्या अनुसार २ देखि ५ प्रतिशतको व्यवस्था छ । त्यसरी छुट्याइएको सेयरलाई समानुपातिक तबरबाट कर्मचारीलाई वितरण गर्नु पर्ने विषयमा केही बोलिएको छैन ।

कर्मचारीलाई छुट्याउने सेयरमा कम्पनीका उच्च अधिकारीले अधिक लिने गरेको अनौपचारिक गुनासो विगत देखि नै हुने गरेको थियो । तर, पछिल्लो समयमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीलाई छुट्याएको सेयर सिमित व्यक्तिले अधिक राखेर अन्य कर्मचारीलाई न्यून संख्यामा सेयर दिएको विषय धितोपत्र बोर्डमा पुगेपछि सतहमा आएको हो ।

सन नेपाल लाइफको सन्दर्भमा प्रमुख कार्यकारीले करिब ८६ हजार कित्ता सम्म लिएर तल्लो तहका कर्मचारीलाई थोरै संख्या सेयर दिने गरी बाँडफाँड गरेपछि बोर्डमा उजुरी नै परेको हो । साथै कम्पनीका कर्मचारीलाई सेयर बाँडफाँड भैसक्दा पनि आफुले पाएको सेयर संख्याको जानकारी पाएका छैनन् ।

अनौपचारीक रुपमा कर्मचारीको सेयरको बाँडफाँडमा उच्च अधिकारीहरुले अधिक लाभ लिने गरेको गुनासो विगतमा पनि आउने गरेको बोर्डका पुर्व कार्यकारी निर्देशक निरज गिरीले बताए ।“धितोपत्र बार्डले ब्रोर्डर रुपमा नीति बनाएर जानु पर्ने देखिन्छ,” उनले भने,“कर्मचारीलाई बाडफाँड गर्दा के कस्तो कार्यविधिमा भयो सोको विस्तृत जानकारी बोर्डलाई पनि गराउनु पर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।” पछिल्लो समयमा कर्मचारी सेयर बाँडफाँको विषयमा आएको विवाद धितोपत्र बोर्ड।सम्म पनि पुगेको भन्ने छ । साधारण सेयर निष्कासन गर्ने कम्पनी धेरै भएकाले कर्मचारीको सेयरका लागि पनि धितोपत्र बोर्डले केही स्पष्ट व्यवस्था गर्न आवश्यक रहेको गिरीको सुझाव छ ।

कर्मचारीलाई छुट्याएको सेयर कसरी बाड्ने भन्ने सन्दर्भमा कम्पनीको आन्तरीक विषय रहेको धितोपत्र बोर्डका प्रवक्ता मुक्तीनाथ श्रेष्ठले बताए । “कर्मचारीको सेयर बाँडफाँडको विषयमा बोर्डले नीतिगत व्यवस्था गर्नु पर्ने देखिदैन”,उनले भने,“आवश्यक परेको खण्डमा बोर्डले नीति ल्याउन पनि सक्छ ।” बोर्डमा आएको उजुरी उपरको कारबाहीका सन्दर्भमा बोर्डले प्रक्रियागत रुपमा अघि बढ्ने समेत उनले बताए।

सन् नेपाल लाइफको मात्र होइन सर्वसाधारण सेयर जारी गर्ने कम्पनीले कर्मचारीका लागि सेयर अनिवार्य दिनुपर्ने हुन्छ । यसरी कर्मचारीलाई छुट्याएको सेयर उच्च अधिकारीले धेरै राख्ने र तल्लो तहका कर्मचारीका लागि न्यून मात्र दिने गरेका छन् । बोर्डले कर्मचारकिो सेयर बाँडफाँडको विषयमा स्पष्ट व्यवस्था नगरिदिदाँ आफूले पाउनुपर्ने सेयर कति हो भनेर एकिन गर्न सक्ने अवस्था छैन । यसले गर्दा पनि यस्ता विवाद संस्था भित्रै दबिने गरेको छ । नीतिगत आधार विना नै बोल्दा व्यवस्थापनका कर्मचारीलाई औपचारिक अनौपचारिक कारबाही समेत गर्न सक्ने डरले बाहिर आउन नसकेको स्पष्ट छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।