वैदेशिक रोजगार बीमालेखबाट दुई महिनामा पौने ४५ करोड बीमाशुल्क संकलन, साउनको तुलनामा भदौमा घट्यो

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो दुई महीना अर्थात साउन र भदौमा ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
दश जीवन बीमा कम्पनीहरुले साउनमा २४ करोड ६९ लाख ९० हजार रुपैयाँ तथा भदौमा २० करोड १२ लाख २३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन । गत साउनको तुलनामा भदौमा बीकाशुल्क तथा बीमाङ्क रकम समेत घटेको छ ।

बीमा कम्पनीहरुले भदौमा ४८ हजार ४३४ वैदेशिक रोजगार म्यादी जीवन बीमालेख मार्फत ४८ अर्ब ४३ करोड ४० लाख बराबरको बीमाङ्कको बीमा गर्दा कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

साउन महिनामा यी कम्पनीहरुले ५८ हजार ८०० वटा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख मार्फत ५८ अर्ब ८० करोड बीमाङ्कको बीमा गर्दा कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेका थिए। भदौ महिनमासम्म कुल १७ लाख ४ हजार ७३ वटा वैदेशिक रोजगार बीमालेख बिक्री भएका छन् ।

चालु आर्थिक वर्षको भदौ महीनामा सबैभन्दा धेरै वैदेशिक रोजगार बीमालेख सन नेपाल लाइफ इन्स्योरेन्समा सक्रिय छन् । कम्पनीमा ११ हजार ६३२ वटा बीमालेख जारी भएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ८० लाख बीमाशुल्क संकलन गरेको छ ।

वैदेशिक रोजगार बीमालेख बिक्रीबाट दोस्रो ठूलो बीमाशुल्क नेपाल लाइफले उठाएको छ । सो कम्पनीले ९ हजार २७१ वटा बीमालेख बिक्रीबाट ४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । आइएमई लाइफले ६ हजार ७९९ वटा बीमालेख बिक्रीबाट २ करोड ७३ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ ।

यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले ४ हजार १४५ बीमालेख बिक्री गर्दै भदौमा १ करोड ७४ लाख बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपालले ३ हजार ९८२ वटा बीमालेख बिक्री गरेर १ करोड ६२ लाख संकलन गरेको छ ।

एशियन लाइफले ३ हजार ८१३ वटा बीमालेख बिक्री गर्दै भदौमा १ करोड ५४ लाख भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १ करोड बीमाशूल्क उठाउन साउनमा ३ हजार ७५० वटा बीमालेख बिक्री गरेको छ ।

भदौमा सानिमा रिलायन्सले १ करोड २३ हजार रुपैयाँ, सिटिजन लाइफले ७६ लाख बीमा शुल्क संकलन गरेका हुन । वैदेशिक रोजगार बीमालेख बिक्रीबाट भदौमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सबैभन्दा कम १०३ वटा बिक्री गरेर ३ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

बीमा प्राधिकरणका अनुसार इजाजत प्राप्त १४ जीवन बीमकमध्ये १० वटाले मात्र वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् । मेट लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, एलआइसी नेपालले वैदेशिक रोजगार बीमालेख बिक्री गरेका छैनन् ।

गत आर्थिक वर्ष २०७९–८० को बाह्र महीनामा दश जीवन बीमा कम्पनीले १६ लाख २९ हजार ५७५ वटा बीमालेख बिक्री गरी ३ अर्ब २१ करोड ८८ लाख ७८ हजार रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेका थिए । गत वर्ष मासिक औसतमा २६ करोड ८२ लाख ३९ हजारका दरले बीमाशुल्क संकलन भएको देखिन्छ ।

वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घट्न थालेपछि वैदेशिक रोजगार बीमालेखबाट संकलन हुने बीमाशुल्कमा कमी आएको हो ।

नेपाल सरकारले समेत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य बीमा गर्नुपर्ने प्रावधान लागू गरेसँगै बीमा कम्पनीहरुले धमाधम यो बीमालेख जारी गरेका हुन्। वैदेशिक रोजगार म्यादी जीवन बीमालेखले जीवन बीमा कम्पनीहरुको व्यवसाय वृद्धिमा ठूलो योगदान पुर्याएको छ । कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । सरकारले नै अनिवार्य गरेको हुनाले पुलको व्यवस्था गरिएको थियो । जो नेपाली रोजगारीका सिलसिलामा विदेश जान्छन्। ती सबैले वैदेशिक रोजगार म्यादी बीमा गर्नैपर्छ ।

म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै तत्कालीन बीमा समितिले २०७५ माघ १ गतेदेखि पुल प्रणाली मार्फत म्यादी बीमालेख बिक्री गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो । प्राप्त कार्यविधि बमोजिम पुल प्रणाली मार्फत् बीमालेख जारी हुँदै आएको वैदेशिक रोजगार म्यादी जीवन बीमा अघिल्लो वर्षदेखि भने हटिसकेको छ । हाल खुला रूपमा जुनसुकै कम्पनीले अनलाइन मार्फत नै वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्न सक्नेछन् ।

नेपाल बीमा प्राधिकरणले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गरेसँगै चार वर्षअघि हुँदै आएको वैदेशिक रोजगार म्यादी जीवन बीमा २०७९ साउन १ गतेदेखि बन्द भएको थियो । हाल भने इच्छुक सबै जीवन बीमा कम्पनीहरूले अनलाइन माध्यमबाट मात्र वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्नेछन् । अनलाइन माध्यमबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेख अनलाइन मार्फत जारी गर्दा लाग्ने शुल्क भन्दा बढी नहुने गरी तोक्नु पर्नेछ । सेवा शुल्क बापतको रकम निर्धारित बीमाशुल्कमा समावेश गर्न पाउँदैनन् । कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सुरु गर्नु अघि प्राधिकरणलाई जानकारी दिनुपर्नेछ । साथै, सो व्यवसाय बन्द गर्नुपरेमा यथोचित कारण सहित समितिमा जानकारी गराउनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।