तातोपानीमा चहलपहल बढ्यो, कोरला नाका सञ्चालनको तयारी 

0
Shares

दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् । 
 
तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौँ भित्रने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउछन । उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख राजस्व सङ्कलन भएको जनाइएको छ । आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरूप राजस्व सङ्कलन हुने केसीको भनाइ छ । 
 
ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पाका अनुसार जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेका छन् । आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउछन् । नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लजसमेत भरिभराउ हुन थालेका छन् । 
 
विसं २०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यस वर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठ बताउछन ।
 
कोरला नाका सञ्चालनको तयारी 
 
गण्डकी प्रदेशका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताएका छन । 
 
तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार स्थलगत निरीक्षण गरेपछि उनले तिब्बततर्फ भौतिक संरचनाहरु निर्माण भइसकेको देखिएको तर मुस्ताङतर्फ सीमास्थलमै केही पनि निर्माण नभएकाले तत्काल भौतिक संरचना निर्माण गर्नुपर्ने बताए। 
 
“कोरोला नाका खोल्ने सरकारको तयारी भइरहेको र यस विषयमा सङ्घ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल गरेका छौँ”, उनले भने, “नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारीसाधन आवतजावत गर्नसक्ने बनाउनतर्फ सरकारको ध्यान केन्द्रित भएको छ ।”
 
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणका क्रममा नेपालका १४ व्यापारिक नाका सञ्चालन गर्न तयार रहेको चिनियाँ पक्षले जानकारी गराएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाकामा हरेक वर्षको दुई पटक हुने व्यापार मेला सञ्चालन हुन सकेको छैन । 
 
मुुख्यमन्त्री पाण्डेको कोरला नाका भ्रमण टोलीमा सहभागी मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पाण्डेले चिनियाँ पक्षले नाका खुलाउन तयार रहेको कूटनीतिक नोट पठाएपछि गृह मन्त्रालयमार्फत जानकारी आएको र नाका खुलाउन चिनियाँ अधिकारीसँग वार्ता गर्न लागिएको बताए। 
 
नाकाको ३० किलोमिटर क्षेत्रमा पर्ने ठाउँका बासिन्दालाई परिचयपत्रका आधारमा बाह्रै महिना नाकामा आवतजावत गर्ने व्यवस्था मिलाउने तयारी भएको छ । कोरला नाका सञ्चालन भएमा चिनियाँ सामान आयात र चीनमा सामान निर्यात गर्न सहज हुने तथा व्यापारिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ । 
 
कालीगण्डकी करिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिका क्रममा रहेको छ । सीमानाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । 
 
मुख्यमन्त्री पाण्डेसहित सङ्घीय सांसद, प्रदेशसभा सदस्यलगायतले मुस्ताङ जिल्लाको सीमावर्ती क्षेत्रका १० भन्दाबढी गाउँमा पुगेर स्थानीयसँग भेट गरेका थिए। प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्नसक्ने सम्बोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधि र स्थानीयबीच अन्तक्र्रिया भएको मुुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । रासस
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।