क्रिकेट संघ र आईएमई पेबीच साझेदारी सम्झौता, आईएमई ग्रुपको ब्रान्ड एम्बेसडरमा करन र सोमपाल


नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । राजधानी काठमाण्डौंमा बिहीबार सम्पन्न एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसनका तर्फबाट आईएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुरूप आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षका लागि नेपाल क्रिकेट संघले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ पार्टनरका रूपमा रहनेछ । सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकटको बिक्रीको जिम्मेवारी पनि आईएमई पे ले पाएको छ ।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता छ । सोही आवश्यकता महसुस गरी यो समझदारी भएको आईएमई पे ले जनाएको छ । नेपाल क्रिकेट संघका सचिव खड्काले आईएमई पे सँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए ।

‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागि आउँदा दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरैभन्दा धेरै खेलहरू खेल्नुपर्ने अवस्था छ । यसैबीचमा आईएमई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो,’ उनले भने । यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

यसैबीच आईएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । आईएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्रान्ड एम्बेसडरमार्फत आईएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ’आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।