मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन

0
Shares

भारतको केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिका बावजुद शुक्रबार ब्याजदरहरूमा कुनै परिवर्तन गरेको छैन । यसले अत्यधिक मनसुनका कारण उच्च खाद्यान्न मूल्यको प्रभावमा आधिकारिक चासोलाई बढाएको छ ।  
 
भारतीय रिजर्व बैंक (आरबीआई) ले बढ्दो मूल्यलाई नियन्त्रण गर्न गत वर्ष रेपो दरलाई शृङ्खलाबद्ध वृद्धि गरेपछि फेब्रुअरीदेखि यसको दरलाई छ दशमलव पाँच प्रतिशतमा कायम राखेको छ । 
 
जुलाईमा सात दशमलव चार प्रतिशत रहेको मुद्रास्फीति अर्को महिना छ दशमलव आठ प्रतिशतको मध्यमस्तरमा थियो तर यो अझै पनि आरबीआईको बेन्चमार्कभन्दा धेरै माथि छ । 
“केन्द्रीय बैंकले समष्टिगत आर्थिक स्थायित्व र दिगो विकासमा उच्च मुद्रास्फीतिलाई जोखिमका रूपमा लिएको थियो र यसलाई चार प्रतिशतको लक्ष्यमा ल्याउनका लागि दृढताका साथ ध्यान केन्द्रीत गरेको छ”, आरबीआईका गभर्नर शक्तिकान्त दासले भने।
 
उत्पादन क्षेत्रहरूमा केही मात्रामा बाढी, उच्च तापक्रम र कीटजन्य हमलाका कारण हालैका महिनामा गहुँ, चामल र टमाटरसहितका खाद्यान्नको मूल्य बढेको छ । 
गत जुलाईमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्मा सर्वसाधारणलाई आक्रान्त बनाइरहेको उच्च मूल्यलाई नियन्त्रण गर्न सरकारले कदम चालेको बताएका थिए । सरकारले चामलको मूल्य घटाउन यसको निर्यातमा रोकसमेत लगाएको थियो । 
 
गभर्नर दासका अनुसार त्यसयता खाद्यान्न मूल्य केही घटेको भए पनि घरेलु बालीको उत्पादनमा आएको गिरावट र अस्थिर विश्वव्यापी खाद्यान्न तथा ऊर्जा मूल्यका कारण समग्र मुद्रास्फीतिको परिदृश्य अनिश्चितताले घेरिएको छ । 
 
युक्रेनमाथि रुसको आक्रमणका कारण विश्वव्यापी आर्थिक गिरावट हुँदा गत वर्ष भारतको मुद्रास्फीति सात दशमलव आठ प्रतिशतको उच्चस्तरमा पुगेको थियो । रुस–युक्रेन द्वन्द्वका कारण खाद्यान्न र इन्धनको मूल्य बढेको थियो । 
 
विश्व बैंकले यसै साता सुदृढ घरेलु माग र लगानीले मुद्रास्फीतिलाई सहयोग गर्ने भन्दै भारत यो वर्ष सबैभन्दा तीव्ररूपमा वृद्धि हुने विश्वको अर्थतन्त्रहरूमध्येको एक हुने बताएको छ ।  
 
भारत गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो । प्राप्त पछिल्लो आँकडाअनुसार जुन महिनाको त्रैमासिकमा भारतको आर्थिक वृद्धि दर सात दशमलव आठ प्रतिशत थियो । 
 
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले निरन्तर ठूलो मौसमी घटनाहरूको सामना गर्दै आएको छ । यसलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनको श्रेय दिएका छन् । 
 
भारतको मौसम विभागले प्राय प्रत्येक वर्ष तापक्रम बढ्दै गएको घोषणा गरेको छ । कहिलेकाहीँ भारतमा तापक्रम ५० डिग्रीसम्म पुगेको विभागले जनाएको छ । 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।