विकास ऋणपत्रको ब्याजदर स्थिर, ७ प्रतिशत ब्याजमा एक खर्ब आन्तरिक ऋण

0
Shares

चालु आर्थिक वर्षको सुरुवाती देखि विकास ऋणपत्रको ब्याजदर स्थिर रहदै आएको छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न नसक्दा लगानीका अन्य बिकल्प नभएपछि विकास ऋणपत्रको ब्याजदर स्थिर रहेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अधिक छ । अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा कर्जा लगानी योग्य रकम तरलताको अवस्था सहज छ । कर्जाको माग नभएपछि बैंक÷वित्तीय संस्थाले सरकारी ऋणपत्रको लगानीमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

बैंकहरुले निक्षेपलाई आइडियल राख्न भन्दा थोरै नै भएपनि आम्दानी हुने गरी सरकारी ऋणपत्रमा लगानी गर्ने प्रतिस्पर्धा गर्दा अल्पकालिन ब्याजदरहरु पनि घट्दो क्रममा छन् ।

कर्जा लगानी विस्तार गर्न नसक्दा बैंकहरुले विकास ऋणपत्र र ट्रेजरी बिल्समा लगानी गर्न प्रतिस्पर्धा गरेका छन् । बैंकहरुको प्रतिस्पर्धाले ट्रेजरीको डिस्काउन्ट रेट २ देखि ५ प्रतिशतको हाराहारीमा झरेको छ। तर, विकास ऋणपत्रको ब्याजदर बढाउन खोजेको भएपनि सफल भने भएनन् ।

बैंक तथा वित्तीय संस्थाले विकास ऋणपत्रको ब्याजदर बढाउन ब्याजदर बढेर बोलकबोल गरेका थिए । तर, केन्द्रीय बैंकले ब्याजदर बढाउन मानेन । त्यो अवस्थामा केन्द्रीय बैंकले निष्कासन गरेको सबै विकास ऋणपत्र बिक्री नभए नगर्ने अडान लिइ ब्याजदर यथावत नै राख्यो । केन्द्रीय बैंकले नबढाएपछि बैंकहरुले सोही अनुसार ७ प्रतिशतमा खरिद गर्न थालेका हुन ।

वित्तीय क्षेत्रमा तरलता अवस्था सहज भएको अवसर पारेर सरकारले चालु आर्थिक वर्षको हालसम्म १२ पटक गरेर करिब एक खर्ब रुपैयाँ विकास ऋण संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो विकास ऋणपत्रको कट अफ रेट ६.५ प्रतिशतमा बिक्री गरेको भएपनि त्यसपछिका सबैको कट अफ रेट ७ प्रतिशत कायम गरेको छ । सरकारका तर्फबाट केन्द्रीय बैंकले ब्याजदर नियन्त्रण गर्दै लागत समेत कम गरेको हो ।

चालु आर्थिक वर्षको असोज २५ गतेसम्ममा सरकारले ९२ अर्ब ३१ करोड रुपैयाँ बरावरको विकास ऋण संकलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले विकास ऋणपत्र जारी नै गरेको थिएन । गत आवमा विकास ऋणपत्रको ब्याजदर हेर्दा करिब ११ देखि ६.३५ प्रतिशतसम्म रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बिहीबार निष्कासन भएको ८ वर्ष अवधिको १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रका लागि २९ अर्ब ७१ करोड रुपैयाँ बराबरको आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ । सो मध्ये कट अफ रेट अनुसार माग गर्नेलाई समानुपातिक हिसाबमा बाँफाँड भएको केन्द्रीय बैंकल जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।