आरएसडिसी लघुवित्तको नाफा सामान्य बढ्यो, इपीएस कति ?

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६.६५ प्रतिशतले बढेको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ४ करोड ७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढेपनि पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८ प्रतिशतले बढेर ८६ करोड ९५लाख ६८ हजार पुगेको छ । तर खुद नाफा भने ६.६५ प्रतिशत मात्र बढेको हो । करिब ११ प्रतिशतले खुद ब्याज आम्दानी घटेपनि ३ लाख ३१ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि लघुवित्तको नाफामा सुधार आएको हो ।

कोषको लागत केही घटेपनि सँगसँगै स्प्रेडदरमा समेत कमी आउँदा लघुवित्तको नाफा प्रभावित बनेको हो । असोजसम्म लघुवित्तको स्प्रेडदर २.७३ बाट घटेर १.६२ प्रतिशतमा कायम छ । अघिल्लो असोजको तुलनामा कोषको लागत ०.१८ प्रतिशतले घटेको छ ।

असोजसम्म लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) २४ पैसा घटेर १८ रुपैयाँ ७६ पैसामा कायम भएको हो । लघुवित्तको प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात २९.७० गुणा छ ।

असोज मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १० करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी १०.९६ प्रतिशत घटेर ६ करोड ८१ लाख १६ हजार तथा फि तथा कमिशन आम्दानी ५४.५९ प्रतिशत घटेर ४० लाख १२ हजार कायम भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६.४४ प्रतिशत बढेर ५ करोड ८१ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । लघुवित्तको जगेडा कोष ७.८८ प्रतिशत बढेर २३ करोड ४१ लाख ९५ हजार पुगेको छ भने सेयरधनी कोषमा मात्रै १४ करोड ३२ लाख सञ्चित छ ।

थोक कर्जा प्रदायक संस्थाको समीक्षा अवधिमा सापटी ९.०५ प्रतिशत बढेर ५ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुग्दा कर्जा लगानी पनि ४.८२ प्रतिशत बढेर ६ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ कायम रहेको तथ्याङ्क छ । प्रवाहित कर्जा असुली नहुँदा निष्क्रिय कर्जा अनुपात गत असोजको तुलनामा ०.८९ प्रतिशत बिन्दुले बढेर १.४९ प्रतिशत पुगेको छ । यस्तै कस्ट अफ फन्ड ११.४८ प्रतिशत र आधार दर ११.९९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।