रिलायन्स स्पिनिङ मिल्सको वार्षिक आम्दानी १० अर्ब बढी, आईपीओ आउँदै

0
Shares

नेपालका दुई व्यापारिक घराना–गोल्यान ग्रुप र एमएस ग्रुपको लगानी रहेको रिलायन्स स्पीनीङ मिल्सले वार्षिक १० अर्ब बढीको कारोबार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको कम्पनी आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब १० करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी गत आव (२०७९/८०) मा घटेर १० अर्ब ६० लाख पुगेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको आम्दानी गत आवमा ९ करोड ९० लाखले घटेको हो ।

सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पीनिङ मिल्स नेपालको सबैभन्दा ठूलो गार्मेन्ट उद्योग हो । कम्पनीले उत्पादन गर्ने पोलीस्टर, भिस्कोज, एक्राइलिक तथा बेलेन्डेड र्यान, कटन नेपालमा मात्रै नभई भारत र टर्कीमा समेत राम्रो बिक्री हुँदै आएको छ ।

गत आवमा कम्पनीले गरेको कुल आम्दानी मध्ये ७६ प्रतिशत आम्दानी भारत र टर्कीबाट हुँदै आएको छ । भारतबाट मात्रै कम्पनीले कुल आम्दानीको १३ प्रतिशत आम्दानी गरेको छ ।

हाल कम्पनीले सुनसरीको कहर र दुहाबीमा गरी दुई फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । सन् २०२३ को अप्रिल महिनादेखि कम्पनीका दुई वटा उत्पादन प्लान्टहरु सञ्चालनमा आएका छन् । अन्तर्राष्ट्रिय बजारमा सिन्थेटिक र कटन र्यानको माग बढ्दै जाँदा कम्पनीले २ अर्ब ७० करोड लगानीमा ८ हजार २८० मेट्रिक टन उत्पादन क्षमता सहितको प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा ४२ हजार ७५० मेट्रिक टन पुगेको हो ।

कम्पनीले ९ अर्ब ३० करोड बराबरको कर्जाका लागि रेटिङ समीक्षा गराएको थियो । रेटिङ एजेन्सी केयर नेपालले ३ अर्ब ७२ करोड ७५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ए माइन्स र ५ अर्ब ५८ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए२ प्लस रेटिङ पुनःपुष्टि गरेको छ । कम्पनीले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सकने क्षमता कुल कर्जाको ६.५४ गुणा रहेको छ ।

यसका साथै कम्पनीको साख समीक्षा गरी केयर नेपालले कम्पनीलाई ए माइन्स रेटिङ गरेको छ ।

कम्पनीका अध्यक्ष पवन कुमार गोल्यान हुन् भने उपाध्यक्ष शशिकान्त अग्रवाल हुन् । पवनकुमार गोल्यान, गोल्यान ग्रुपको प्रतिनिधित्व गर्छन् भने शशिकान्त अग्रवालले एमएस ग्रुपको प्रतिनिधित्व गर्छन् । कम्पनीका प्रबन्ध निर्देशक अक्ष्य गोल्यान हुन् । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । जसको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो यस स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकि ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

चार हजा ३ सय भन्दा धेरै जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।