एलआईसी नेपालले सेयरधनीलाई बनायो निराश, यो वर्ष पनि छैन लाभांश

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई निराश बनाएको छ । कम्पनीले लगातार दुई वर्ष लाभांश वितरण नगरी लगानीकर्तालाई निराश बनाएको हो ।

कम्पनीले आर्थिक वर्ष ०७८–७९ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेसँगै लाभांश पाउने आशामा रहेका कम्पनीले लगातार दुई आर्थिक वर्ष लगानीकर्ताहरूको हात रित्तै बनाएको हो । यसले सेयरधनीहरूलाई निराशा मात्रै बनाएको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले बिना लाभांश मङ्सिर १८ गते सोमबार २१ औं वार्षिक साधारण सभा बोलाएको हो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ः१५ बजे सभा आह्वान गरिएको छ ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसयता दुई आर्थिक वर्ष ०७७–७८ र ०७८–७९ बाट लगानीकर्ताले कुनैपनि लाभांश प्राप्त गर्न सकेनन् ।

 

एलआईसीको २१ औं वार्षिक सभाले आर्थिक वर्ष २०७८–७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७९–८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर ११ गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा मङ्सिर १० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

सेयरधनीलाई लगातार दुई वर्ष लाभांश वितरण नगरेको यस कम्पनीले भारी मात्रामा हकप्रद सेयर निष्कासन गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५१६ प्रतिशत (१ कित्ता बराबर ०.८८४५१ कित्ता) अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा असोज २९ गते निवेदन दिएको छ । यो हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

एलआइसी नेपालमा नेपाली साझेदार विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत तथा सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत सेयर स्वामित्व छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।