चार महिनाको व्यापार घाटा साढे ४ खर्ब, आयात निर्यात दुबै घट्यो

0
Shares

चालू आर्थिक वर्ष २०८०/८१ को चौथो महिना अर्थात कात्तिक महिनासम्ममा मुलुकको व्यापार घाटा साढे ४ खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ३.३४ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

कात्तिक महिनासम्म ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

कात्तिक महिनासम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात ३.७९ प्रतिशतले घटेको छ भने निर्यात ७.६८ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार कात्तिक महिनासम्ममा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोडरुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

गत वर्षको यसै अविधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँ आयात भएकोमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा ५ खर्ब १६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।