सांग्रिला र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सोमबार अर्थात मंसिर ११ गते बुकक्लोज गर्ने भएको हो । 

यस अनुसार आज आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको लाभांश प्राप्त गर्न तथा यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकले बैंकले मंसिर २४ गते, आइतबार, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९ औँ वार्षिक साधारण सभा डाकेको हो। सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कार्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर २३ गते शनिबार बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड एण्ड होटल प्रालि मणिग्राम रुपन्देहीमा १५ औं वार्षिक साधारण सभा बोलाइएको छ ।

सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर (४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ) र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत (२ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सभाले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र अन्य बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । सभाबाट गत आव २०७९–८० को नाफा नोक्सान सहितको वार्षिक वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।