एनसीएचएलको लाभांश पारित, अधिकृत पूँजी २ अर्ब पुर्याउने

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आव २०७९/८० को आफ्नो बाह्रौं वार्षिक साधारण सभाले २८.५% बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका निम्ती १.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस वितरण पश्चात एनसीएचएलको चुत्ता पुँजी १ अर्ब ६६ लाख ३७ हजार ९ सय पुगेको छ । साथै सभाले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पु¥याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्ने जनाएको छ ।

साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्न/गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

आव २०७९/८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६५ ले वृद्धी भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा ९५ भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु आवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।