कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छः सांसद विमला राई पौड्याल

0
Shares

सांसद डा. विमला राई पौड्याललाई छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो । कानुन बनाउने त्यस बेलाको उच्च मनोबल अहिले घटिसकेको भने छैन तर आफ्नातर्फबाट प्रयास गर्दा गर्दै जति सोचिएको थियो, त्यति गर्न नसकिएको उनको अनुभव छ ।

ललितपुरस्थित स्वीस दूतावासमा काम गर्दा गर्दै राष्ट्रिय योजना आयोगको सदस्य भएकी उनी आयोगको सदस्यपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको स्वकीय सचिव पनि भइन् । नेदरयाण्डस्को ‘इन्टरनेशन इस्टिच्युट अफ सोसियल स्टडिज’बाट ‘विकास अध्ययन’मा विद्यावारिधि गरेकी भोजपुर निवासी उनले महिला हिंसा, शिक्षा, सुशासन, राष्ट्रियताका सवालमा सदनमा सशक्त आवाज उठाउँदै आएकी छिन् ।

मुुलुक र जनताका विषयवस्तुलाई गहनरुपमा प्रस्तुत गर्न सक्ने नेकपा (एमाले) का सांसद पौड्याल सङ्घीय संसद्मा सुरुका दुई वर्ष संविधानको मौलिक हकसँग सम्बन्धित मुुुलुकी ऐनहरू निर्माणमा सरकार र संसद्को सक्रियता रहेको तर पछिल्ला समयमा सरकारले पर्याप्त काम नदिँदा कानुन निर्माणको कार्यमा शिथिलता आएको ठान्छिन् । आफ्नो ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिने भए पनि संसदीय गतिविधिमा उत्तिकै लागिरहने पूर्वपरराष्ट्रमन्त्री डा. पौड्याल सुरुका दुई वर्षपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी भित्रको विभाजन, संसद् विघटन र राजनीतिक खिचातानीका कारण कानुन निर्माणका कार्य प्रभावित हुँदा खिन्न छिन् ।

कानुन निर्माणका अतिरिक्त सांसदले सरकारका कामको निगरानी र जनताका समस्या तथा गुनासालाई सदनमा आवाज उठाउन निर्वाह गर्नुपर्ने भएकाले आफूले ६ वर्षे अवधिमा ती सवामा सन्तोषजनक रुपमा भूमिका निर्वाह गरेको डा. पौड्यालको आत्ममूल्याङ्कन छ ।

सरकारले ‘बिजनेस’ दिएन भन्ने एउटा पक्ष छ, संसद्ले पनि आफैँ सक्रिय भएर विधेयकहरू मगाउने र छलफल गर्न सक्दैन ? भन्ने प्रश्नमा उनी भन्छिन्, “राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिनाले कतिपय मन्त्रीहरूलाई बोलाएर महत्वपूर्ण विधेयक चाँडो ल्याउन पटक पटक भनेको मैले सुनेकी छु । अहिले पनि निजामति कर्मचारी सम्बन्धी विधेयक, प्रदेश प्रहरीको समायोजन विधेयक, विद्यालय शिक्षा सम्बन्धी विधेयक, विश्वविद्यालय सम्बन्धी विधेयक प्रस्तुत तथा पारितमा ढिलाइ भएको छ । यसमा सरकार नै सक्रिय नभई हुँदैन ।”

कानुन निर्माणका सवालमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका बीचमा जिम्मेवारीमा बाँडफाँट गरेर जान सुझाव दिने डा. पौड्याल प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबाट निर्वाचित हुने बौद्धिक एवं विभिन्न समुदायको प्रतिनिधित्व हुने माथिल्लो सदनलाई सङ्घीयता तथा समावेशीतासम्बन्धी विधेयक र नीतिहरूमा बढी अभ्यस्त बनाइनुपर्छ भन्छिन् । “दुई सदनबीच समन्वय भएमा विधेयकहरू छिटो पारित हुने र दोहोरोपना नहुने अवस्था आउँछ ।” उनले भनिन् । वर्तमान सरकारले प्रतिनिधि सभामा बढी विधेयक दर्ता गर्ने गर्नुले राष्ट्रियसभाका कतिपय बैठक बिजनेश नभएर बस्दै नबसी स्थगन गर्नुपरेका घटना पनि उनी स्मरण गर्छिन् ।

नेपाल सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रममा सांसदहरूले राख्ने सुझावलाई दर्ज मात्रै गरिने तर प्रस्तुत कार्यक्रममा कुनै संशोधन नगर्ने परिपाटी चाँही उनलाई चित्त बुझेको छैन । “सत्ता पक्षकै कतिपय सांसदले राखेका जायज कुरा पनि संशोधन हुँदैन । बहुमत र दलीय ब्हिपका आधारमा जे प्रस्तुत भएको छ, त्यही पारित हुन्छ । हामी सांसदले जति कराए पनि कुनै अर्थ हुँदैन । यो पद्धतिमा परिवर्तन गर्नुपर्छ ।”

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको समन्वय र सन्तुलनमा सन्दर्भमा सोधिएको प्रश्नमा सांसद डा. पौड्यालले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनलाई पुनःस्थापना बाहेक अन्य सवालमा न्यायालयाले हस्तक्षेप नगरेको तर्क गर्छिन् ।

(सांसदसँग राससका लागि प्रकाश सिलवालले डा. विमला राई पौड्यालसँग गरेको कुराकानीमा आधारित ।)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।