गोल्यान ग्रुपले साढे चार अर्बमा लुम्बिनीमा पाँच तारे होटल निर्माण गर्ने

0
Shares

व्यापारिक घराना गोल्यान ग्रुपले साढे ४ अर्ब लगानीमा लुम्बिनीमा पाँच तारे होटल निर्माण गर्ने भएको छ । गौतम बुद्धको जन्मस्थान लुम्बिनप्को मायादेवी गाउँपालिकामा गोल्यान ग्रुपले होटल निर्माण गर्नेछ ।

कुल २ लाख ९१ हजार ७९१ वर्गफिट जग्गामा निर्माण हुँदै गरेको होटलमा २०० वटा कोठाहरु उपलब्ध हुनेछन् । होटल निर्माणको पहिलो चरणमा रेष्टुरेन्ट, स्वीमिङ पूल, स्पा र क्यासिनो निर्माण गरिने कम्पनीले जनाएको छ ।

सन् २०२२ को डिसेम्बर २९ देखि होटल निर्माण कार्य सुरु गरिएको थियो । हालसम्म होटल निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको कार्य भइरहेको छ । सन् २०२७ को जुलाई महिनादेखि होटल सञ्चालनमा आउने अनुमान गरिएको छ ।

कुल ४ अर्ब ६० लाख लगानीमा निर्माण हुँदै गरेको होटल २ अर्ब ९८ करोड ८० लाख कर्जामा आधारित रहेको छ भने १ अर्ब १ करोड ८० लाख लगानीकर्ताहरुको लगानीमा आधारित रहेको छ । हालसम्म लगानीकर्ताहरुले २० करोड ६० लाख रुपैयाँ इन्फ्युज गरेका छन् । ग्रुुपले ३ अर्ब बराबरको कर्जाका लागि साख मूल्याकंन गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ३ अर्ब बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको छ ।

गोल्यान ग्रुप अन्तर्गतको ‘वेदा हस्पिटालिटी’ प्रालिले होटलको व्यवस्थापन सम्हालेको छ। वेदा हस्पिटालिटीले हायात इन्टरनेशनल साउथवेस्ट एशियासँग होटल व्यवस्थापन सम्झौता गरेको छ । यसअघि पनि गोल्यान ग्रुपले हायात इन्टरनेशनलकै व्यवस्थापनमा काठमाडौंमा हायात प्यालेस होटल सञ्चालन गरिरहेको छ ।

पछिल्लो समयमा भारत, बाङ्लादेश लगायतका विभिन्न देशहरुबाट नेपाल आई गन्तव्य विवाह गर्ने र नेपालका विभिन्न सहरमा छरिएर बसेका मानिसहरुले पनि गन्तव्य विवाहको संस्कृतिलाई विस्तार गरिरहेका छन् । यसैक्रममा गोल्यान ग्रुपले गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पाँच तारे होटल निर्माण गरी गन्तव्य विवाह र बिदामा घुमफिर गर्न लुम्बिनी जाने पर्यटकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले होटल निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।