सीप सिकेर स्वरोजगार बन्दै महिला

0
Shares

दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।

आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको घोराही उपमहानगरपालिका–१४ कपासीका उमेरले ५० वर्षमा लागेकी मीना ओलीले बताए । उनी भन्छिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ यस अघि उनले सुइटर, टोपी, मोजा बुन्न सिकेको बताइन् ।

प्रशिक्षण केन्द्रले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि ऊनबाट बन्ने घर सजावटका सामग्री, खेलौना लगायतका सामग्री बुन्ने सीप प्रदान गरेको छ । केन्द्रमार्फत अन्य समयमा पनि विभिन्न बुनाई सम्बन्धी सीपयुक्त तालिम सञ्चालन भइरहन्छ ।

यसअघि आफूले सुइटर, मोजा, टोपी बुन्न सिकीसकेको ओलीको भनाइ छ । अब सीप सिकेर ऊनबाट निर्माण हुने विभिन्न प्रकारका डल बुनेर बजारसम्म लैजाने तयारी आफुहरुको रहेको उनले बताइन् । “यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ”, उनी भन्छिन्, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।” यसअघि चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरी आत्मनिर्भरको बाटो रोजेका छन् ।

घोराही उपमहानगरपालिका–१६ मघईका ३५ वर्षीया चमेली चौधरीले पनि मङ्सिर ७ गतेदेखि ऊनका सामग्री बनाउन सिक्दै आएकी छिन् । अघिपछि घरमा त्यसै बस्दा आर्थिकरुपमा कसरी सशक्त हुन सकिन्छ भन्ने मात्रै सोचाइ आउँथ्यो तर अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्ने समेत समय नहुने गरेको बताइन् । यो अबधिमा पनि धेरै कुरा सिक्न पाएको उनको भनाइ छ । फुर्सदको समयलाई सीपमूलक काममा लगाइयोे भने जीविकोपार्जनमा सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

महिलालाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुवेदी र विमला चौधरीले सीप सिकाउँदै आएकी छिन् । केन्द्रमा हाल १५/१६ जना महिलाले सीप सिक्दै आएका छन् । प्रशिक्षक सुवेदीे सीप सिकेर व्यावसायिक रुपले अगाडि बढाउन प्रशिक्षार्थीलाई आग्रह गर्छन् । सिकेको सीपले बजारमा पाइने रेडिमेटभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने उनको अनुभव छ ।

“सुवेदीले सीप सिकेर उत्पादन गरेका वस्तु बिक्रीका लागि जिल्लामा बजारको समस्या भएको बताइन् । स्थानीय सरकारले यसको बजारीकरणको लागि सहज वातावरण बनाइदिए राम्रो हुने उनको धारणा रहेको छ । हाल मुख्य समस्या बजारीकरण रहेको र त्यसका लागि हरेक निकायले पहल गरे सहज हुने उनको भनाइ छ ।

साथै आयआर्जन न्यून भएका धेरै महिला सीप सिक्नबाट वञ्चित हुँदा सरकारले पनि महिलालाई स्वरोजगार बनाउन ध्यान दिन आवश्यक रहेको उनी बताउछिन् । कतिपय महिलाले सीप सिक्न आउँदा दैनिक मजदुरी नै छुट्ने समस्या बताउने गरेको प्रशिक्षक सुवेदी बताउँछिन् । प्रशिक्षक सुवेदीले २०६९ सालदेखि प्रशिक्षकको काम गर्दै आएकी छिन् ।

ऊनका सामग्री बनाएर विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाको आयआर्जनमा सुधार ल्याउने हिसाबले सीप प्रदान गरिएको अर्का प्रशिक्षक विमला चौधरीले बताइन् । एक महिनासम्म महिलालाई ऊनको धागोबाट विभिन्न प्रकारका खेलौना तथा घर सजावटका सामग्री बुन्न सिकाइरहेको उनको भनाइ छ । तालिमप्रश्चात् प्रशिक्षार्थीले उत्पादन गरेका सामग्रीलाई आफुले काठमाडौँ लगेर बजारीकरण गरिदिने उनी बताउछिन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।