एनएसआरएस प्रणालीको विकास तथा कार्यान्वायनमा धितोपत्र बोर्ड र लेखामान बोर्डको सहकार्य


धितोपत्र बजारसंग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गराउन लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्ड बीच सम्झौता भएको छ । प्रतिवेदन मान (रिपोर्टिङ स्टाण्डर्डस्) मा एकरुपता ल्याउन बोर्डहरुका बिचमा सम्झौता भएको हो ।

पुस ४ गते भएको सम्झौतामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डका अध्यक्ष प्रकाश जंग थापा, एफ.सि.ए. ले हस्ताक्षर गरेका हुन् ।

नेपाल सस्टिनेबिलिटी रिपोर्टिङ स्टाण्डर्डस्को विकास तथा कार्यान्वयन गर्ने मुख्य उद्देश्यका सम्झौता गरिएको बोर्डहरुले जनाएका छन् ।

नेपालको सन्दर्भमा सस्टिनेबिलिटी रिपोर्टिङ नयाँ अवधारणा हो । यो व्यवसायिक अभ्यासहरु, वाताबरण वा समाज र व्यापारका लागि राम्रो हुने अवधारणा सहित वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासन कायम तथा जवाफदेहिताको जानकारी सुनिश्चित गर्ने बताइएको छ ।

एनएसआरएस प्रणालीको विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुने सम्झौतामा उल्लेख छ भने धितोपत्र बोर्डले यसको कार्यान्वयन गर्न आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सो मानहरुसँग सम्बन्धित प्राविधिक बिषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ ।

धितोपत्र नियामकहरुको अन्तर्राष्ट्रिय संगठन (आईओएससिओ) ले सन् २०२३ मा इन्टरनेशनल सस्टिनेबिलिटी स्टाण्डर्डस् बोर्ड (आईएसएसबी) ले जारी गरेको आईएफआरएस एस१ र एस२ लाई लागू गर्न नियामक सदस्य संस्थाहरुलाई आह्वान गरेको थियो । सोही सन्दर्भमा नेपाल धितोपत्र बोर्डले आईओएससिओको एशोसिएट सदस्यका नाताले तोकिएको प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

साथै दीगो विकासका लक्ष्य १२ (एसडिजिएस १२) मा उत्तरदायी उपभोग तथा उत्पादनमा सस्टिनेबिलिटी रिपोर्टिङ लागू गर्दै दिगो उपभोग र उत्पादन सुनिश्चित गर्नुपर्ने प्रावधान छ । यी विषयलाई आत्मसाथ गर्दै लक्ष्य प्राप्तिमा नेपालले प्रतिबद्धता जनाएको अवस्थामा सम्झौता भएको हो ।

चालु आर्थिक वर्ष २०८०।०८१ भित्र नेपाल सस्टिनेबिलिटी रिपोर्टिङ स्टाण्डर्डस् (एनएसआरएस) को विकासको योजना अनुसार लेखामान बोर्डका अध्यक्ष थापाको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि रहेको नेपाल सस्टिनेबिसलटी डिस्क्लोजर स्टाण्डर्डस् विकास समिति गठन भएको थियो । उक्त समितिमा धितोपत्र बोर्ड पनि सदस्य रहेको छ ।

धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनु पर्ने सूचना तथा जानकारीहरू अन्तर्राष्ट्रिय रूपमा प्रचलित असल अभ्यास हुनुपर्नेमा धितोपत्र बोर्ड सदैब सचेत रहेको र सोही अनुसार नेपालमा समेत यस्ता अभ्यास अनुसार कार्य गर्न धितोपत्र बोर्ड प्रतिबद्ध रहेको बोर्डले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।