साढे दुई करोडको आईपिओमा ५७ करोडको आवेदन, पौने तीन लाखले शेयर नपाउने

0
Shares

गुराँस लघुवित्तको साढे दुई करोडको आईपिओमा ५७ करोड २० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । लघुवित्तले बैशाख १६ गते सोमबार देखि आईपिओ जारी गरेको थियो ।

लघुवित्तले कुल २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर जारी गरेको थियो । जसमध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।

बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा गरेकोमा ५७ लाख २० हजार कित्ता माग परेको बिक्री प्रबन्धकले जनाएको छ । जुन सर्वसाधरणका लागि निष्काशन गरिएको शेयरको २४ गुणा बढी माग हो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईपिएल एस क्यापिटलका अनुसार लघुवित्तको शेयर माग गर्दे ३ लाख ८ हजार आवेदन परेको छ ।

सर्वसाधारणका लागि जारी गरेको शेयर दश कित्ताका दरले बाँडफाँड गर्दा २३ हजार ३६२ आवेदकले पाउने देखिन्छ भने २ लाख ८४ हजार ६ बढी लगानीकर्ताको हात खाली हुने निश्चित भएको छ ।

लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिने व्यवस्था थियो ।

लघुवित्तको शेयर यसै साता बाँडफाँड हुनेछ । मिति तय भने भएको छैन

प्रकाशित मिति: २२ वैशाख २०७६, आइतबार  २२ : ४४ बजे