धितोपत्रको दोस्रो बजारमा लगानीको निर्णय लिँदा सूचना लिई संयमित तथा विवेकशील भएर मात्र गर्न आग्रह

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा आवश्यक सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिन आग्रह गरेको छ ।  सेयर लगानीकर्तालाई सजग गराउने उदेश्यले मंगलबार एक सूचना जारी गर्दै बोर्डले धितोपत्र बजार (सेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि) मा लगानी गर्दा विशेष ध्यान दिन भन्दै १७ बुँदे सचेतात्मक सन्देश दिएको हो ।

बोर्डले धितोपत्रको मूल्यमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा मूल्य उतारचढाव सम्बन्धी उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिन आग्रह गरेको छ । यस्तै धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार या कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको वास्तविक वस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय लिन आग्रह गरिएको छ ।

नेपाल धितोपत्र बोडमा दर्ता भएको तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रमा मात्र लगानी गर्नुका साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्न आग्रह गरिएको छ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन भावी योजनाहरू कम्पनीको आयधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरू (प्रतिसेयर आम्दानी, प्रतिसेयर लाभांश, लगानीमा प्रतिफल, प्रतिसेयर नेटवर्थ) पुँजीकोष अनुपात, निस्क्रिय कर्जा अनुपान आदि धितोपत्रको मूल्य प्रवृत्ति कम्पनीको साधारण सभाको निर्णय माइन्यूट जस्ता महत्वपूर्ण कुराहरूको अध्ययन गनुपर्ने बोर्डले जानकारी दिएको छ ।

धितापत्रको प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्नुअघि धितोपत्र निष्काशनकर्ता कम्पनीको आह्वानपत्र तथा विवरणपत्र मार्फत प्रवाहित जानकारीहरू मुख्यतया कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति नेटवर्थ, नाफा नोक्सान स्थिति आदि लगानी योजना जोखिम पक्ष, क्रेडिट रेटिङ्गकोस्तर जस्ता कुराहरूको विश्लेषण गर्नुहोस् । धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिले प्रत्यक्ष प्रभाव पार्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहन आग्रह गरिएको छ ।

आफूसंँग भएको धितोपत्र कागजी प्रमाणपत्रलाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्यमार्फत अभौतिकीकरण गर्न र दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ (टि प्लस टू) हुनुपर्ने कुराको जानकारी समेत बोर्डले दिएको छ । साथै आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए नभएको सम्बन्धमा समेत ध्यान दिन आग्रह गरिएको छ ।

यसैगरी पुँजी बजार सम्बन्धी नीति, नियम तथा निर्देशनहरूले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेवसाइट समय समयमा हेर्न, लगानीमा हुनसक्ने जोखिमलाई लगानी विविधिकरण मार्फत न्यूनीकरण गर्न तथा दीर्घकालीन रूपमा गरिने लगानीले जोखिमको सम्भावनालाई न्यून गराउने हुँदा दीर्घकालीन लगानीमा जोड दिन आग्रह गरिएको छ ।

धितोपत्रको दोस्रो बजारबाट कारोबार गर्दा सिधै नेप्सेको विद्युतीय कारोबार प्रणाली वा बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल तथा तिनको शाखा कार्यालयबाट मात्र गर्न र धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंक तथा वित्तीय संस्था मार्फत मात्र गर्न आग्रह गरिएको छ ।  बोर्डले दोस्रो बजार मात्र होइन प्राथमिक बजारमा लगानी गर्दा समेत विवेकपूर्ण लगानी गर्न आग्रह गरेको छ । धितोपत्र बजारमा लगानी गर्न हितग्राही खाता अनिवार्य गरिएको हुँदा सिडिएस एण्ड क्लियरिङ कम्पनी लिमिटेड (सिडिएससी) तथा निक्षेप सदस्यसँग सम्पर्क राखी बैंक खाता सहितको ग्राहक परिचय विवरण (केवाईसी) अनिवार्य रूपमा भरी हितग्राही खाता खोलेर धितोपत्र खरिद बिक्री कारोबार गर्नसक्ने बोर्डले जनाएको छ ।

यस्तै प्राथमिक बजारमा लगानी गर्न निक्षेप सदस्यकोमा हितग्राही (डिम्याट) खाता खोली आफ्नो बैंक खाता रहेको बैंकबाट आश्वा वा सि–आस्वा रजिष्ट्रेशन नम्बर लिई अनलाइनबाट सहजरूपमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।

लगानीकताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको साथै बोर्डबाट भएका व्यवस्थाहरूबारे जानकारी राख्न धितोपत्र सम्बन्धी ऐन नियमहरू र अन्य व्यवस्थाको जानकारी बोर्डको वेबसाइट तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ । लगानीकर्ताहरुलाई पुँजीबजार सम्बन्धी साक्षर बनाउने उद्देश्यले बोर्डले समय समयमा आफ्नो कार्यालयमा तथा विभिन्न जिल्लाहरूमा लगानीकता सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रमा सहभागी हुन र बोर्डबाट रेडियो नेपाल मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७ः४० देखि ७ः५५ सम्म सञ्चालन गरिने धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम सुनेर बजार सम्बन्धी जानकारी लिनसक्ने बताइएको छ ।

धितोपत्रमा लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासा तथा उजुरीहरू भएमा नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटार, ललितपुरमा वा टेलिफोन, टोल फ्रि नम्बर, फ्याक्स तथा इमेल मार्फत उजुरी गर्नसक्ने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।